भुटानी शरणार्थी प्रकरण

शरणार्थी नेता टेकनाथ रिजालले बुझाए धरौटी, बुधबार छुट्दै

काठमाडौं । भुटानी शरणार्थी नेता टेकनाथ रिजालले धरौटी बुझाएका छन् ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन संलग्न रहेको अभियोग लागेका रिजाललाई उच्च अदालत पाटनले मंसिर १५ गते १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

उक्त आदेश भए पनि धरौटी बुझाउन नसकेपछि उनी कारागारमै बस्दै आएका थिए ।

आइतबार जिल्ला अदालत काठमाडौंमा १५ लाख धरौटी बुझाएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले जानकारी दिए ।

‘हिजो धरौटी बुझाएको भनेर पत्र आएको थियो। त्यसपछि हामीले सम्पत्ति शुद्धीकरणमा पठाएका थियौं,’ जेलर बस्नेतले भने, ‘तर अबेर भएकाले हिजो काम सकिएन । अब पर्सिमात्रै छुट्नुहुन्छ ।’

सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले उनी बुधबार छुट्न लागेका हुन् । रिजाललाई गत असार १ गते अन्य अभियुक्तहरूसँगै केन्द्रीय कारागार लगिएको थियो ।

रिजाललाई गत असार १ गते अन्य अभियुक्तहरूसँगै केन्द्रीय कारागार लगिएको थियो ।

उच्च अदालत पाटनका न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलको इजलासले उनीसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

उनीसँगै थुनामा परेका हरिभक्त महर्जनले १५ लाख, हज समितिका अध्यक्ष शमशेर मियाँले १० लाख, पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीले १० लाख, रामशरण केसीले १५ लाख बुझाएर छुटिसकेका छन् ।

साथै, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपले बुधबार ३० लाख रुपैयाँ धरौटी बुझाएर कारागारबाट थुनामुक्त भएका थिए ।

आशिष बुढाथोकीलाई पनि उच्च अदालतले साधारण तारेखमा राख्न आदेश दिएको थियो ।

उक्त इजलासमा पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई छाड्ने कि नछाड्ने भन्ने विषयमा दुई न्यायाधीशबीच राय बाझिएको थियो ।

न्यायाधीश पाण्डेले खाणलाई ३० लाख धरौटीमा छाड्नुपर्ने राय दिँदा खरेलले थुनामै राख्नुपर्ने राय दिएका थिए। यसरी राय बाझिएपछि मंसिर २८ गते न्यायाधीश कृष्णराम कोइरालाको इजलासले पाण्डेको रायमा सहमति जनाउँदै खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले) का नेतासमेत रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, सागर राई, गोविन्दकुमार चौधरी र आङटावा शेर्पा थुनामा छन्। सानु भण्डारी, केशव दुलाल र सन्देश शर्मालाई भने ललितपुरको नख्खुस्थित कारागारमा राखिएको छ ।

लक्ष्मी महर्जन, टंक गुरूङ र केशव तुलाधर साधारण तारेखमा छन्। जिल्ला अदालतले लक्ष्मीसँग ५ लाख, टंकसँग १० लाख र केशवसँग १५ लाख धरौटी मागेको थियो । त्यसविरूद्ध निवेदन लिएर उच्चमा जाँदा तीनै जनालाई साधारण तारेखमा राखेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका २० जनाविरूद्ध ठगी, लिखत कीर्ते, राज्य विरूद्धको अपराध र संगठित अपराधमा गत जेठ १० गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

अदालतले गत असार १ गते १७ जनालाई थुनामा पठाएर तीन जनालाई धरौटी माग गरेको थियो ।

यसमा सरकारी वकिल कार्यालयले ३० जनालाई प्रतिवादी बनाएको थियो। तीमध्ये १० जना अझै फरार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =