सुन तस्करी गर्ने चन्द्र घले ६० पटक दुबई ओहोरदोहोर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित पक्राउ परेका गोरखाका चन्द्र घले ६० पटकसम्म दुबई–काठमाडौं ओहोरदोहार गरेको पाइएको छ। सुन तस्करी छानबिन समितिले आइतबार पत्रकार सम्मलेन गर्दै सुनतस्करीमा संलग्न गिरोह बारे प्रतिवेदन बुझाएको हो।
प्रतिवेदनमा गिरोहमा संलग्नदेखि तस्करीका तरिका समेत खुलाइएको छ। यसअघि १३८ किलो सुन तस्करको गिरोहले भित्र्याएको बताउँने समितिले घले सुन ओसार्नकै लागि यति धेरै ओहोरदोहोर गरेको ठहर गरेको हो।
अब यो प्रकरणको थप अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई जिम्मा दिने भएको छ।यसअघि राजश्व अनुसन्धान विभागले बरामद गरेको सुन प्रकरण पनि सीआईबीले नै अनुसन्धान गरेको थियो।
अहिले बरामद १४ किलो सुन पठाउने काम अंकित अग्रवाल र गुरु भन्ने व्यक्तिले गरेको खुलेको छ। नेपालको विमानस्थलमा सेटिङ मिलाउने काम भने डीबी गुरुङ भन्ने व्यक्तिले गर्ने गरेको पाइएको छ।








