स्थानीय तह आफैँले पाठ्यक्रम बनाउनुपर्छ : विद्या भट्टराई

काठमाडौँ । नेकपा (एमाले) की सांसद विद्या भट्टराईले स्थानीय तह आफैँले पाठ्यक्रम बनाउन सक्ने व्यवस्था गर्नुपर्ने बताएकी छन् ।
आईतवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद भट्टराईले विद्यालय शिक्षा विधेयकमा स्थानीय तह आफैँले आफ्नो पाठ्यक्रम बनाउने व्यवस्था गर्नुपर्ने बताएकी हुन् ।
उनले पाठ्यक्रमको सन्दर्भमा संघले स्थानीय तहलाई निर्देशन दिने हक नराख्ने बताइन् । उनले संविधानको कार्यान्वयन गर्ने भए संविधानको मर्मसँग बाझिनेगरी ऐन बनाउनु नहुने बताइन् । उनले संविधानको आधारभूत र मौलिक मर्महरूलाई बिर्सिएर ऐन बनाएर उद्देश्य पूरा गर्न नसकिने भन्दै यसतर्फ सबै गम्भीर हुनुपर्ने बताइन् ।
उनले भनिन् ‘यहाँ अनुसूची ८ को बुँदा ७ ले के भन्छ भन्दा आधारभूत र माध्यामिक तहसम्मको शिक्षा पूर्ण रुपमा स्थानीय तहको अधिकारभित्र राखेको छ । भनेपछि यो विद्यालय शिक्षा विधेयक बनाउने हक जब स्थानीय तहले राख्दैन भने यो अनुसूची ८ लाई कार्यान्वयन गर्छौं भन्ने अधिकार हामी राख्छौँ कि राख्दैनौँ । संविधानको आधारभूत र मौलिक मर्महरूलाई बिर्सिएर ऐन बनायौँ भने उद्देश्य पूरा गर्न सकौँला ? यसतर्फ गम्भीर हुनुपर्छ । स्थानीय विषय हरेक पालिकामा स्थानीय तहमा निर्माण गर्नुपर्छ पाठ्यक्रममा चाहिन्छ भनिरहेको अवस्थामा अहिले पनि स्थानीय तहमा आफ्नो स्थानीय विषयलाई समावेश भएको पाठ्यक्रम पुगिरहेको छैन । यसका बारेमा पनि अबको कानुन बन्दा हामीले पाठ्यक्रमको बारेमा स्थानीय तहलाई निर्देशन दिने हक संघले राख्छ र ? राख्दैन नि । हामी संविधानको कार्यान्वयन गर्छौं भनेर यो ऐन बनाउन लागेका हौँ भने संविधानको मर्मलाई बाझिनेगरी हामी जानु हुँदैन । यसतर्फ हामी ध्यानाकर्षण हौँ ।’
उनले शिक्षक महासङ्घसँग सरकारले गरेको सम्झौताको बारेमा समितिलाई जानकारी गराइनुपर्ने माग पनि गरिन् ।








