जनार्दनलाई उर्जामन्त्री र कुलमानलाई एमडी बनाएपछि लोडसेडिङ अन्त्य भयो : प्रचण्ड (भिडिओ)

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले डेढ वर्षभित्र पूरै देश उज्यालो हुने दाबी गरेका छन् ।

शनिवार जनतासँग माओवादी विशेष रूपान्तरणअन्तर्गत काठमाडौंको बुढानीलकण्ठमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले डेढ वर्षभित्र एउटा पनि घर विद्युत् नपुगेको नरहने जिकिर गरे ।

उनले डेढ वर्षभित्र सारा देश उज्यालो बनाउने लक्ष्यका साथ आफूहरूले काम गरिरहेको बताए । प्रधानमन्त्री दाहालले आफ्नो दोस्रो कार्यकालमा लोडसेडिङ अन्त्य गरेको भएपनि त्यसको प्रचार गर्न नसकेको बताए । उनले लोडसेडिङको अन्त्य गरी आफूले नै नेपाललाई उज्यालो नेपालको नयाँ युगमा प्रवेश गराएको दाबी गरे ।

उनले भने ‘दोस्रो प्रधानमन्त्रीत्व कालमा लोडसेडिङ अन्त्य । मैले जनार्दनलाई उर्जामन्त्री बनाएपछि, कुलमानलाई एमडी बनाएपछि र हामी सबै मिलेर यो स्थितिको अन्त्य गर्नुपर्छ भनेपछि लोडसेडिङको अन्त्य गरिएको हो । उज्यालो नेपालको नयाँ युगमा प्रवेश गरिएको हो । तर हामीले यत्ति ठूलो चिज पनि राम्रोसँग बिक्री गर्न सकेनौँ । अरुले नगरेको काम पनि गरेको जस्तो गरी प्रचार गर्छन्, हामीले गरेको पनि राम्रोसँग भन्न सकिएन । अहिले तेस्रो पटक म प्रधानमन्त्री हुँदै गर्दा अब सिंगै देशमा एउटा पनि घर विद्युत् नपुगेको रहनेछैन । डेढ वर्षभित्र पूरै देश उज्यालो हुनेछ । यो लक्ष्यसहित हामी अघि बढेका छौँ ।’

प्रधानमन्त्री दाहालले भूमि सम्बन्धी, सुकुम्वासी, अव्यवस्थित बोसोवासी र स्ववासीका समस्या समाधानका लागि चाँडै नै नयाँ ऐन जारी गर्न लागेको बताए । उनले नयाँ ऐन जारी गर्नका लागि राजनीतिक सहमति जुटिसकेको र रकारमा पनि छलफल भइसकेको बताए ।

प्रधानमन्त्री दाहालले नयाँ ऐन आएसँगै लालपुर्जा वितरणको एउटा नयाँ अभियान सुरु हुने उद्घोष गरे । ५० औं वर्षदेखिका अव्यवस्थित बोसवासीका, स्ववासीका समस्या समाधान गर्ने ढंगले ऐनको व्यवस्था भइरहेको बताए । उनले ऐनमा भएका केही त्रुटिका कारणले यो समस्या आइरहेको र अहिले आफूले समस्या फुकाउन लागेको बताए ।

उनले भने ‘हाम्रो यो देशका सबै उत्पीडित, वर्ग, जाति, क्षेत्र, समुदायको हक अधिकारका लागि इमानदारितापूर्वक लड्ने पार्टी भनेको माओवादी नै हो । माओवादीलाई दरोसँग सहयोग गर्नुपर्छ भन्ने एउटा नयाँ संस्कृति, नयाँ प्रवृत्ति, नयाँ जागरण जनतामा आउँदै गरेको मैले देखेको छु । सबैको साथ रह्यो भने अर्को पटकको चुनाव माओवादीले जित्छ । बुढानीलकण्ठमा खहरेको समस्या भनेर राख्नुभयो, सुकुम्वासीको समस्या भनेर राख्नुभयो । अव्यवस्थित बोसोवासीको समस्या भनेर राख्नुभएको छ, यति नजिकै भएर पनि सांस्कृतिक धरोहरका ब्राण्डिङ गर्न सकिएको छैन । भूमि सम्बन्धी समस्या र सुकुम्वासीको समस्या वा अव्यवस्थित बोसोवासीको समस्या र स्ववासीको समस्या काठमाडौं, ललितपुर र भक्तपुरमा स्ववासीको समस्या पनि एउटा ठुलै समस्याको रुपमा रहेको छ । त्यसको हल गर्नको निमित्त मैले नयाँ ऐन तुरुन्तै ल्याउँदै छु । लालपुर्जा वितरणको एउटा नयाँ अभियान सुरु हुँदैछ । म तपाईँहरूलाई यो विश्वास दिलाउन चाहन्छु । यो समस्याको समाधान गर्न एक वर्षदेखि पहल गर्दा ऐनमा भएका केही त्रुटिका कारणले रोकिएको थियो । उपत्यका बाहेकका बाँकी जिल्लामा वन र भूमि ऐन आपसमा बाझिँदा यो समस्या थियो । त्यो गाँठो यस पटक मैले फुकाउँदै छु । त्यसमा राजनीतिक सहमति जुटिसकेको छ, सरकारमा चर्चा भइसकेको छ, छिटै नै तपाईँले देख्नुहुनेछ, ५० औं वर्षदेखिका समस्या, अव्यवस्थित बोसवासीका, स्ववासीको समस्या समाधान गर्ने ढंगले ऐनको व्यवस्था हुँदैछ ।’

प्रधानमन्त्री दाहालले देशका सबै उत्पीडित, वर्ग, जाति, क्षेत्र, समुदायको हक अधिकारका लागि इमानदारितापूर्वक लड्ने पार्टी माओवादी भएको बताए । सबैको साथ रहेमा अर्को पटकको निर्वाचनमा माओवादी सबैभन्दा ठूलो पार्टी बन्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =