नवौं नेपाल फर्मा एक्स्पो, आगामी फागुनदेखि सञ्चालन हुने

काठमाडौं । नवौं नेपाल फर्मा एक्स्पो, २०२४ आगामी फागुन २५ देखि २७ गतेसम्म चितवनमा सञ्चालन हुने भएको छ ।
नेपाल औषधि उत्पादक संघ (एप्पोन) ले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चितवनको भरतपुरमा एक्स्पो आयोजना हुने जानकारी गराएको हो ।
फागुन २५ देखि २७ गते (मार्च ८ देखि १०) सम्म चितवनमा हुने एक्स्पोमा धेरै किसिमका औषधि उत्पादन प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई देखाइनेछ ।
पत्रकार सम्मेलनमा बोल्दै एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले एक्स्पोमा नेपालमा औषधि उद्योगको दिगोपन र वृद्धिका अगुवाईलाई मुख्य नारा बनाइएको छ ।
एक्स्पोमा १५० भन्दा बढी स्टलहरु रहने र यसमा भारत, चीन, बंगलादेश, नेपाल, सिंगापुरका स्टलहरु रहने बताए ।
नेपालको औषधि उद्योगको सबैभन्दा महत्वपूर्ण दाबी गरिएको एक्स्पोमा ३० हजार भन्दा बढी मानिसको उपस्थिति रहने अपेक्षा आयोजकले गरेको छ ।
यस वर्षको फर्मा एक्स्पोको नारा ’नेपालमा फर्मा उद्योगको दिगोपन र वृद्धिका लागि अगुवाई’ भन्ने तय गरिएको छ ।
कार्यक्रममा बोल्दै एक्स्पोका संयोजक प्रभात रुंगटाले एक्स्पोमा डेढ सय स्टल रहने र अहिले बुकिङको क्रम जारी रहेको बताए ।
उनले भारत बाहेक चीन लगायतका औषधि कम्पनीहरुको स्टल १५ वटासम्म रहने र ११० वटा जति स्टल भारतीय औषधि कम्पनीका रहने बताए ।
उनले काठमाडौंमा भृकुटीमण्डप मात्रै एक्स्पो सेन्टर रहेको र एक्स्पोका लागि सो समयमा खालि नरहेकाले चितवन रोजेको बताए ।
उनले भने, ‘डेढ सय स्टलमध्ये अब यो दुई महिनाको समय बाँकी छ । बुकिङको क्रम जारी छ । विगतको हेर्दा चाइना र अरु र विदेशी कम्पनीहरुको भारत बाहेकका १० देखि १५ वटा र बाँकी रहेको सयदेखि ११० वटा इण्डियन कम्पनीहरुको नै हुने देखिएको छ । काठमाडौंमा भृकुटीमण्डप मात्रै एग्जिबेसन सेन्टर भयो, त्यो प्याक छ, त्यसपछि बुटवलमा छ, सुदूरपश्चिम पनि गएर गर्नुपर्छ भनेर लागियो तर त्यो सम्भव नभएको देखियो । चितवन भनेको देशकै बीचमा छ । त्यो भएकाले पनि पायक परेको हो ।’
प्रत्येक दुई वर्षमा आयोजना गरिने यस एक्स्पोले नेपालका औषधि उद्योगलाई अगाडि बढाउनका लागि महत्वपूर्ण भुमिका खेल्ने बताइएको छ ।
एक्स्पो ज्ञान आदानप्रदानकासाथै सहकार्य, औषधि क्षेत्रको वृद्धि विकासका लागि महत्वपूर्ण हुने आयोजकको भनाइ छ ।








