केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल सुरु

काठमाडौँ । कानुन, न्याय तथा मानव अधिकार समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल प्रारम्भ भएको छ ।
समितिको शुक्रवारको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल प्रारम्भ भएको हो ।
शुक्रवारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ लगायत समिति सदस्यहरूले आगामी दिनमा विधेयकमाथिको छलफललाई कसरी अगाडी बढाउने भन्ने सन्दर्भमा धारणा राखेका थिए ।
समिति सभापति विमला सुवेदीले समितिको आगामी बैठकबाट विधेयकमाथि दफावार छलफल हुने बताइन् । उनले आगामी दिनमा विधेयकमाथि संशोधन प्रस्ताव प्रस्तुतिकर्ता सदस्यहरूसँग छलफल, विधेयकका सरोकारवाला मन्त्रालय÷निकायहरूसँग छलफल र विधेयकका सरोकारवाला संघ, संस्था वा समूहहरूसँग छलफल हुने बताइन् । त्यसपछि विधेयकका विषयमा दफावार छलफल, प्रतिवेदन लेखन र विधेयकको प्रतिवेदन पारितको कार्यसूची रहेको उनले बताइन् ।
उनले भनिन् ‘दफावार छलफलका लागि प्राप्त भएको यो विधेयक समितिमै दफावार छलफल हुने, दफावार छलफलका लागि तत्काल उपसमिति गठन नहुने ब्यहोरा जानकारी गराउँछु । यस विधेयकको दफावार छलफल अब समितिमा निरन्तर हुने ब्यहोरा समेत जानकारी गराउँदै अब बस्ने समितिको बैठकमा अनिवार्य रुपमा उपस्थित हुन समेत माननीय सदस्यहरूलाई अनुरोध गर्दछु । अब क्रमशः विधेयकमाथि संशोधन प्रस्ताव प्रस्तुतिकर्ता माननीय सदस्यहरूसँग छलफल, विधेयकका सरोकारवाला मन्त्रालय÷निकायहरूसँग छलफल, विधेयकका सरोकारवाला संघ, संस्था वा समूहहरूसँग छलफल, विधेयकका विषयमा दफावार छलफल, प्रतिवेदन लेखन र विधेयकको प्रतिवेदन पारितको कार्यसूची रहेको छ । फेरि पनि के अनुरोध गर्न चाहेँ भने हामीले अब बिदाको दिन बाहेक निरन्तर बैठक अगाडी बढाऔँ ।’
समिति सभापति सुवेदीले अब समितिको बैठक सार्वजनिक बिदाको दिन बाहेक नियमित रुपमा बस्ने भन्दै बैठकमा अनिवार्य उपस्थितिका लागि सांसदहरूलाई आग्रह गरे । समितिको आगामी बैठक पुस ८ गते आइतबार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।








