माप्य दुधकोशीमा ‘रक क्लाइम्बिङ सेन्टर’ सञ्चालन

काठमाडौं । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिकामा ‘रक क्लाइम्बिङ सेन्टर’ सञ्चालन गरिएको छ ।
नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान) को सहकार्यमा माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ महभीरमा ‘रक क्लाइम्बिङ सेन्टर’ निर्माण गरिएको हो ।
टानले नेपालका नयाँ–नयाँ पदमार्गको खोजि र संरक्षणकोे लागि पर्यटकीय क्षेत्रहरुका स्थानीय सरकारसँग सहकार्य गरी रक क्लाइम्बिङमार्फत आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षण गर्न ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना गरेको छ ।
‘रक क्लाइम्बिङ सेन्टर’को शुभारम्भ विश्वकीर्तिमानी हिमालआरोही कामिरिता शेर्पाले गरे । त्यस्तै,गाउँपालिकामा ‘एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्ग’को पनि शुभारम्भ गरिएको छ । एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्गका अधिकांश स्थानबाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल हेरेर आनन्दित हुन सकिन्छ ।
उक्त पदमार्ग चार रात पाँच दिनको छ । शेर्पा समुदायको संस्कृतिसँग जोडिएको उक्त पदमार्ग ‘कुधाम भ्यु प्वाइन्ट’ पुगेर राति बास बस्नका लागि गाउँपालिकाले वासस्थान निर्माण गरिदिएको छ ।
विश्वकीर्तिमानी पर्वतारोही शेर्पाले नेपालका थुप्रै डाँडाहरुमा रक क्लाइम्बिङको ठूलो सम्भावना रहेको बताए । उनले नेपालका डाँडाहरुलाई विश्वमा बेच्नसके पर्यटन क्षेत्रमार्फत नेपालको अर्थतन्त्र बलियो बनाउन सकिने बताए ।
उनले विदेशीहरुलाई पर्वतीय क्षेत्रहरु मन पर्ने भएकाले सोलुखुम्बुका डाँडाहरुमा होम स्टे लगायत रक क्लाइम्बिङ सञ्चालन गर्नसक्ने ठूलो सम्भावना रहेको बताए ।
उनले नेपाल पर्यटन बोर्ड विदेशी पर्यटकको पैसा असुल्न मात्रै नभएको भन्दै पर्यटकीय जिल्लाका सम्भावना बोकेका पहाडहरुमा पर्यटकीय गन्तव्य निर्माणको लागि सहयोग गर्नुपर्ने बताए ।
उनले पर्यटन बोर्ड लगायत पर्यटन क्षेत्रमा काम गर्ने संस्थाहरुले पर्यटकीय गन्तव्य निर्माणको लागि सम्भावना क्षेत्रमा सहयोग गर्नु आवश्यक रहेको बताए ।
उनले सरकारी निकायहरुले पर्यटकीय सम्भावना भएका क्षेत्रहरुको विकास गर्छन् भन्ने आशा लाग्न छाडेको बताए ।
त्यस्तै,ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बाँस्तोलाले ‘रक क्लाइम्बिङ सेन्टर’लाई अन्तर्राष्ट्रिय रक क्लाइम्बिङ इन्स्टिच्युट सेन्टरको रुपमा विकास गर्नुपर्ने बताए ।
उनले त्यसको लागि स्थानीय, प्रदेश,संघीय सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्न आवश्यक रहेको बताए । उनले ‘रक क्लाइम्बिङ नेपालमा नयाँ पर्यटकीय एडभेन्चरको रुपमा विकास भइरहेको बताए ।
उनले पछिल्लो समय स्थानीय तहले जथाभावी मोटर बाटो खन्दै जाँदा पदमार्ग हराउँदै गएकोले सोलुखुम्बुमा पर्यटकलाई आकर्षण गर्न प्रकृति र संस्कृतिलाई सँगसँगै अगाडि बढाउन टानले सहकार्य गर्न लागेको बताए ।
अध्यक्ष बाँस्तोलाले एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग घोरेपानी–पुनहिललाई बिर्साउने पदमार्ग हुने बताए ।
उनले तीन हजारभन्दा बढी उचाईमा रहेको उक्त पदमार्गबाट हिमाल, लालिगुराँस र चराचुरुङ्गीको मिठो आवाजसँगै शेर्पा, राई, तामाङ र विभिन्न समुदायको संस्कृति थाहा पाउने भएकाले उत्कृष्ट गन्तव्य रहेको बताए ।
उनले जनकपुर र हलेसी दर्शनका लागि आएका पर्यटकलाई ‘एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्ग’मा लैजानसके सोलुखुम्बुको पर्यटन क्षेत्रले कोल्टे फेर्ने बताए ।
त्यस्तै,कोशी प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीले सोलुखुम्बु पर्यटकका लागि राम्रो सम्भाव्यता बोकेको जिल्ला भएको बताए । उनले जिल्लाको पर्यटकीय विकासका लागि केन्द्रदेखि प्रदेश हुँदै स्थानीय सरकार लाग्न आवश्यक रहेको बताए ।
उनले पर्वतारोहण संघले हिमालको रोयल्टी लिने तर सोलुुखुम्बुमा लगानी गर्ने नगरेको बताए । उनले सरकारले सोलुखुम्बुमा जनताले चाहेको जस्तो पर्यटकीय गन्तव्यको लागि काम गर्न नसकेको बताए ।
उनले हिमाल र सस्कृतिहरु बेचेर सरकार धनी हुने सोलुबुम्बु जिल्लालाई वास्ता नगर्ने हो भने आठ वटा स्थानीय तहले लगाउने करले प्रदेश र केन्द्र सरकारलाई धक्का लाग्नसक्ने बताए ।
उनले सोलुबुम्बुका स्थानीय तहहरुले चोह सोलुखुम्बुका हिमालहरुको रोयल्टी जिल्लामा नै राख्ने प्रदेश र केन्द्र सरकारलाई चेतावानी दिए ।
उनले जलवायु परिवर्तनको कारण हिमालमा परेको असरको विषयमा संयुक्त राष्ट्र संघका महासचिव कालापत्थरमा गएर बोल्ने तर नेपाल सरकार बोल्न नसकेको बताए ।
उनले देशको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको पर्यटन क्षेत्रको विकासलाई प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेको बताए ।
उनले सगरमाथा क्षेत्र घुम्न आएका पर्यटकलाई माप्य दुधकोशी गाउँपालिकामा भित्र्याउनसके पर्यटनले गति लिने बताए ।
त्यस्तै,माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले अघिल्लो कार्यकालमा नै पदमार्ग बनाउने गुरुयोजना दोस्रो कार्यकालमा आएर पूरा भएको बताए ।
उनले सांस्कृतिक पदमार्ग तथा रक क्लाइम्बिङले गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने बताए ।
उनले पर्यटन पर्वद्धन गर्नसके एउटा पालिकोको मात्रै नभएर समग्र देशकै नमूना गन्तव्यको रुपमा यो क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावना रहेको बताए ।
उनले यो क्षेत्रबाट सगरमाथालाई नजिकबाट देख्न सकिने बताए । उनले गाउँपालिकाले पर्यटनको विकासलाई विशेष प्राथमिकतामा राखेर सात वर्षदेखि बजेट विनियोजन गर्दै आएको बताए ।
उनले गाउँपालिकाले वार्षिक कुल बजेटको २० देखि २५ प्रतिशत रकम पर्यटन विकासका लागि विनियोजन गर्दै आएको बताए ।
उनले सडक बाटो हुँदै सगरमाथा क्षेत्र घुम्न जाने पर्यटकलाई रक क्लाइम्बिङप्रति आकर्षण गर्ने उद्देश्यले ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना गरिएको बताए ।








