मर्यादाक्रम मिचेको भन्दै मधेस सम्मेलनको मञ्चमै गएनन् निधि

काठमाडौं । नेपाली कांग्रेस मधेस प्रदेशको पहिलो सम्मेलन जनकपुरधाममा सुरू भएको छ ।
बिहीबार दिउँसो सम्मेलनको उद्घाटन सत्र चलिरहेको छ। सभापति शेरबहादुर देउवाले सम्मेलन उद्घाटन गरेका छन् ।
सम्मेलनमा सभापति देउवासहित केन्द्रीय पदाधिकारीहरू पुगेका छन् । पदाधिकारीहरूलाई मञ्चमा राखिएको छ ।
पूर्वउपसभापति विमलेन्द्र निधि पनि सम्मेलनमा पुगेका छन् । निधि मञ्चमा नबसी दर्शकदीर्घामा बसेका छन् ।
मर्यादाक्रम मिचेर नेताहरूको आसनग्रहण गराइएको भन्दै निधि मञ्चमा जान नमानेका हुन् ।
प्रदेश महामन्त्री बृहस्पती कृष्ण श्रेष्ठले नेताहरूलाई मञ्चमा आसनग्रहणका लागि पटक–पटक आग्रह गरेका थिए । निधिको नाम पटक–पटक लिए पनि उनी मञ्चमा गएका छैनन् ।
यसैबीच नेता शेखर कोइराला पनि मधेस सम्मेलनमा गएका छैनन् ।
सभापति देउवापछि वरीयता (विशिष्ट अतिथि) नबनाएको भन्दै कोइराला पक्षका ८ जना नेताले बुधबारको बैठकमा फरक मत राखेका थिए । कोइराला आज सुनसरी गएका छन् ।








