माओवादीले फागुनमा विधान अधिवेशन गर्ने, सात सदस्यीय समिति गठन

काठमाडौं । नेकपा माओवादी केन्द्रले फागुन पहिलो साता विधान अधिवेशन गर्ने भएको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले फागुनको पहिलो साता विधान अधिवेशन गर्ने निर्णय गरेको हो ।
विधान अधिवेशनअघि विधानको मस्यौदा बनाउन सात सदस्यीय मस्यौदा समिति सचिवालयले बनाएको छ ।
समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरूङ, उपमहासचिवहरू वर्षमान पुन, जनार्दन शर्मा र गिरिराजमणि पोखरेल तथा सचिवहरू राम कार्की र गणेश साह छन् ।
मस्यौदा समितिलाई १५ दिनभित्र मस्यौदा तयार पारेर १ महिना जिल्ला जिल्लामा छलफल चलाउन बैठकले निर्देशन दिएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
यसअघि गत साउनमा बसेको माओवादी केन्द्रीय कमिटी बैठकले मंसिरमा विधान अधिवेशन गर्ने निर्णय गरेको थियो ।
तर भदौ १७ गतेदेखि सुरू भएको तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ को समयावधि १ महिना थपेर माओवादीले पुस १७ गतेसम्म पु¥याएको थियो ।
अभियान भने पुस १७ गते नै समापन गर्ने निर्णय भएको सचिव पौडेलले जानकारी दिए ।
यस्तै, बैठकले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारहरूका आकांक्षीहरूको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।








