टिआरसी विधेयक सर्वसम्मतिबाट नटुंगिए प्रक्रियागत रुपबाट टुंग्याउनुपर्छ : सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले सर्वसम्मतिबाट शान्ति प्रक्रियाका बाँकी काम टुंगिन नसके प्रक्रियागत ढंगबाट टुंग्याएर कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
बुधवार काठमाडौंमा भएको संक्रमणकालीन न्यायमा बारुदी सुरुङ र बिष्फोटक पदार्थका पीडितहरुको न्याय तथा माइन एक्शनमा समावेशिताको सवाल विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताए ।
उनले सबैको साझा समस्या भएकाले सकेसम्म सर्वसम्मत रुपमा टुंग्याउनुपर्ने र सर्वसम्मत हुन नसके प्रक्रियागत रुपमा टुंग्याइ कार्यान्वयनको चरणमा लैजानुपर्ने बताए ।
उनले एकले अर्कोलाई दोष देखाएर नभइ जिम्मेवारीमा बसेको बेलामा यसको समाधान खोज्नुपर्ने बताए ।
उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउँदा सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने बताए ।
उनले सत्तापक्ष, प्रतिपक्ष सरकार, गैरसरकारी संस्था, बुद्धिजीवि, राजनीतिज्ञहरु सबै मिलेर शान्ति प्रक्रियाका बाँकी काम ढिलो नगरी टुंग्याउनुपर्ने बताए ।
उनले शान्ति प्रक्रियाका बाँकी काम अमुकअमुक नेताहरुको अघि सारेर मात्रै नटुंगिने आशंका व्यक्त गरे ।
उनले भने– ‘एकले अर्कोलाई दोष देखाएर होइन, जिम्मेवारीमा बसेको बेलामा यसको समाधान गर्नुप¥यो । त्यो गर्दा को सत्तामा छ यो कुराहरु होइन । के गर्नुपर्छ, यो कुरा हुनुपर्छ । के गर्दा यसको आधारभुत समाधान हुन्छ । कसैलाई जिम्मेवारी पन्छाएर होइन की यो जिम्मेवारीलाई पूरा गर्न मेरो भुमिका के हुन्छ भन्नेकुरा राजनीतिक दल, सांसद र संसदले र अहिलेको यसलाई कार्यान्वयन गर्नपर्ने बाधा अफ्ठ्याराहरु के हुन् ? सरकारले यी सबैकुरा सोचेर यसको टुंगोमा पुग्नुपर्छ । जहाँसम्म समयसमयमा विधेयकहरु आउने, व्यापक रुपबाट विधेयकहरु छलफल हुने, पारित हुन नसक्ने यो स्थिति देशका राजनीतिक पार्टीहरुको जिम्मेवारीमाथि भर पर्छ । अहिले हामीले यो कुरामाथि चर्चा गरिरहँदाखेरी हिजो के भएको थियो, को पीडित थियो, को पीडक थियो, कसलाई कति घाटा र कसलाई कति नाफा भयो । हिजोको आँखाले हेरेर अहिलेको दायित्व पूरा हुँदैन । हिजो त एउटा नहुनु, न व्यहोर्नुपर्ने, एउटा परिस्थिति हामीले व्यहोरेर आयौँ । त्यो विगत भयो । अब अहिले भएको स्थितिबाट अघि जानको लागि यसमा पीडित पक्ष र पीडक पक्ष र अब आउनसक्ने दिनहरुमा राष्ट्र निर्माण गर्नको लागि हाम्रो मानव जीवनलाई जीवनउपयोगि बनाउनका लागि, समाजलाई शान्तिपूर्ण ढंगबाट अघि लैजानको लागि हाम्रो दायित्व पूरा गर्दै देशलाई समृद्ध बनाउँदै जीवनलाई सुखी बनाउनका लागि अब हामी कसरी जाने ? हिजो व्यहोरेर आयौँ, हामीले सारा कुराहरु हिजोका डरलाग्दा दिनहरुलाई टुंग्याएर यो ठाउँमा पुग्यौँ । तर अब रहेका तुषहरुलाई कसरी समाधान गर्न सकिन्छ ? त्यसमा हिजोको आँखाबाट होइन, अब के गर्नुपर्छ भन्ने आँखाबाट विगतका कुराहरुलाई गर्न सकिने राहत, मलमपट्टी, सहयोग, परिपूरण के गर्न सकिन्छ ? कतिसम्म गर्न उचित हुन्छ ? यो कुराप्रति जिम्मेवार भएर सत्तापक्ष, प्रतिपक्ष सरकार, गैरसरकारी संस्था, बुद्धिजीवि, राजनीतिज्ञ सबैले अब यसलाई ढिलो नगरी टुंग्याउनुपर्छ । सरकारले संसदमा अहिले शान्ति स्थापना गर्नको लागि टिआरसी विधेयक प्रश्तुत गरेको छ । त्यसलाई प्राथमिकताकासात छलफलमा राख्न सभामुखको नाताले दिनुपर्ने प्राथमिकता, खेल्नुपर्ने भुमिका मैले खेलेको छु । त्यसलाई प्राथमिकतामा लैजाने सन्दर्भमा पनि करिवकरिव टुंगिएर पनि केही केही विषय टुंगिन बाँकी छ । यो टुंग्याउनको लागि निश्चय पनि पार्टीहरुको भुमिका त हुन्छ नै तर अहिले हाम्रोमा परिपाटी के छ भने पार्टीका शिर्ष नेताहरुले सहमति गरे हुन्थ्यो भन्नेछ । म के भन्छु भने सांसदहरुले यसमा जिम्मेवार भएर यसमा सही अडान र दृष्टिकोण राखेर यसको समाधान यसरी गर्नुपर्छ, यो ऐनलाई यसरी पारित गर्नुपर्छ, नत्र यो विधेयकमाथि नमिलेका बुँदालाई यसरी गर्नुपर्छ भनेर घनिभुत रुपबाट छलफल गर्ने र नेताहरुबाट पनि सहमति खोज्ने काम गर्नुपर्छ । यसलाई अमुकअमुक नेताहरुको अघि सारेर मात्रै सम्भवतः यो नटुंगिन सक्छ । त्यसैले यसलाई टुंग्याउनको लागि मान्य सांसदहरु, अहिले समितिमा हुनुहुन्छ, त्यहीँ टुंग्याउन कोशिस गर्नुपर्छ, समितिपछि चाँडै संसद चल्नेछ, संसदको पूर्ण बैठकमा त्यसलाई लगेर पनि छलफल गरी टुंग्याउनुपर्छ । यो टुंग्याउँदा सही ढंगबाट ल्याइसकेको निस्कर्षमा सम्भव हुन्छ सबैको साझा समस्या हो, सर्वसम्मतिले टुंग्याउने कोशिष गर्नुपर्छ, सर्वसम्मत हिसावबाट टुंगिँदैन भनेपनि यसलाई लामो राखेर लैजानु हुँदैन की प्रक्रियासंगत ढंगबाट टुंग्याएर कार्यान्वयन गर्ने योजना र आँटका साथ जानुपर्छ ।’
सभामुख घिमिरेले टिआरसीसँग सम्बन्धित विधेयक समितिबाटै सबैले टुंग्याउन पहल गर्नुपर्ने बताए ।








