विष्णुको विश्लेषण- ‘जनताले देशको बागडोर एमालेको हातमा सुम्पिन चाहेका छन्’

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले नेपाली जनताले मुलुकको शासनको बागडोर एमालेलाई सुम्पिन चाहेको बताएका छन् ।

पार्टीको झुलाघाट-चिवाभञ्ज्याङ यात्राको क्रममा जनताले भोगेका सबै समस्याको समाधान गर्न पनि मुलुकको शासन सत्ता एमालेले लिनुपर्ने र त्यसको नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुपर्ने आम जनताको चाहना रहेको आफूहरूले पाएको उपाध्यक्ष पौडेलको दाबी थियो ।

उनले आम जनताले आफूहरूको यात्राको क्रममा एमालेप्रति असाधारण आशा, भरोसा र विश्वास गरेको जिकिर गर्दै त्यसलाई महत्त्वपूर्ण पुँजीको रूपमा ग्रहण गरेर अघि बढ्ने बताए । देशलाई सुख, शान्ति र समृद्धिको यात्रामा अघि बढाउन एमालेको विकल्प नभएको पनि यात्राको क्रममा अनुभूति भएको उपाध्यक्ष पौडेलको भनाई थियो । उनले पार्टी अध्यक्ष ओलीप्रति देशभरका सबै उमेर समूहका मानिसहरूको असाधारण आकर्षण रहेको पनि बताए । सङ्कल्प यात्राको क्रममा पाएका सबै सुझावहरूलाई सूचिकृत गरेर एमालेले आगामी दिनमा अघि बढ्ने उपाध्यक्ष पौडेलको भनाई छ ।

उनले भनेका छन्,  ‘हाम्रो पार्टीका श्रद्धेय अध्यक्षको अगुवाइमा झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको यात्रामा सहभागी भयौँ । यस क्रममा हामीले एउटा विशिष्ट पक्ष के छ भन्दाखेरी आम जनतामा यो पार्टी, त्यो पार्टी, यो दल वा त्यो दल होइन । यो समुदाय, त्यो समुदाय होइन । सबै जनसमुदायमा नेकपा एमालेप्रति असाधारण अपेक्षा, भरोसा र आकर्षण रहेको हामीले पायौँ । र, विशेष गरी हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीज्यूप्रति सबै उमेर समूहका वृद्धवृद्धाहरु, वयस्क नागरिकहरू, युवा युवतीहरू, किशोरकिशोरीहरु र बालबालिकाहरू सबै उमेर समूहका मानिसहरूमा असाधारण आकर्षण छ । र आम मानिसहरूले नेकपा एमालेका हातमा यो मुलुकको शासनको बागडोर जानुपर्छ । र केपी शर्मा ओलीले मुलुकको नेतृत्व गर्नुपर्छ । अनि मात्रै हामीले भागेका समस्या समाधान हुनेछन् । अनि मात्रै देशले सुख, शान्ति र समृद्धिको यात्रा तय गर्ने अवसर प्राप्त गर्नेछ भनेर त्यो प्रकारको असाधारण विश्वास रहेको हामीले पायौँ । अब हामीले जनतामा रहेको यो एमालेप्रतिको विश्वासलाई, एमालेप्रतिको यो भरोसालाई एमालेको महत्वपूर्ण पूँजीको रुपमा ग्रहण गर्न चाहन्छौं । यसक्रममा जनताले, विभिन्न संघ, संस्थाहरूले, राजनीतिक दलहरूले दिएको सुझावहरूलाई हामी टेबलमा राखेर विश्लेषण गर्नेछौँ । र हाम्रा आउने दिनका निर्णयहरूमा यसक्रममा प्राप्त भएका सुझावहरू, अनुभवहरूलाई  नयाँ ढंगले सूचिकृत गरेर ती सुझावहरूलाई कार्यान्वयन गर्ने सन्दर्भमा हामी प्लानिङ गरेर अघि बढनेछौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + seventeen =