नेकपा एसको निर्णय : तोकिएका सबै जिल्ला अधिवेशनहरू स्थगित गर्ने

काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले मिति तोकिसकेका जिल्ला अधिवेशनहरू स्थगित गर्ने निर्णय गरेको छ ।
मंगलवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठक अझै जारी रहेको र पुस ७ गते पुनः बस्ने पार्टीका सचिव जीवनराम श्रेष्ठले बताए ।
उनले कतिपय जिल्लाहरूले अधिवेशन गर्ने तयारी गरिरहेको र कतिले अधिवेशन तोकिसकेको अवस्था रहेको भन्दै महाधिवेशनलाई केन्द्रित गरेर विधान संशोधनको प्रक्रियामा रहेको हुनाले माघ १४ र १५ गते बस्ने नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद्को बैठकपछि मात्रै तिथि तोक्ने गरी तोकिएका सबै अधिवेशनहरू स्थगित निर्णय गरेको बताए ।
उनले महाधिवेशनमा कसरी नेतृत्व चयन गर्ने भन्ने बारेमा पनि छलफल भएको बताए । उनले केन्द्रीय कमिटीको संख्या कस्तो बनाउने ? महाधिवेशन निर्वाचनको विधि कसरी गर्ने ? भन्ने बारेमा छलफल भइरहेको बताए ।
उनले भने ‘दोस्रो दिनको बैठक जारी छ । विधान संशोधन प्रस्तावमाथि नै छलफल चलिरहेको छ । आज पनि सकिएको छैन । बैठक ७ गते ११ बजे केन्द्रीय कार्यालयमा नै बस्नेछ । कतिपय जिल्लाहरूले अधिवेशन गर्ने तयारी गरिरहेका छन्, कतिले अधिवेशन तोकिसकेको अवस्था छ । महाधिवेशनलाई केन्द्रित गरेर विधान संशोधनको प्रक्रियामा रहेको हुनाले आजको सचिवालय बैठकबाट यो नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद्को बैठक जुन माघको १४ र १५ गते राखेको छ, त्यसपछि मात्रै तिथि तोक्ने गरी तोकिएका सबै अधिवेशनहरू स्थगित गर्ने निर्णय गरेको छ । छलफलको केन्द्रबिन्दु केन्द्रीय कमिटीको संख्या कस्तो बनाउने ? निर्वाचनको विधि कसरी गर्ने रु प्रत्यक्ष निर्वाचन गर्ने की, हलबाट महाधिवेशन हलबाट, प्रतिनिधिबाट । महाधिवेशनबाट केन्द्रीय परिषद् छानेर केन्द्रीय परिषद्ले केन्द्रीय कमिटीको निर्वाचन गर्ने, केन्द्रीय कमिटीले पदाधिकारीको निर्वाचन गर्ने हो की ? भन्ने छलफल भइरहेको छ । सङ्गठनको संरचनालाई कसरी लैजाने भन्नेबारेमा पनि छलफल भइरहेको छ । विधानमा ७० वर्षको उमेरको सीमा तोकेका थियौँ । यो विषयमा पनि कसरी अघि बढ्न र सबैखालका उमेर समूहलाई समेटेर सबैलाई मिलाएर लैजाने छलफल भइरहेको छ ।’
सचिव श्रेष्ठले सङ्गठनको संरचनालाई कसरी लैजाने भन्नेबारेमा पनि छलफल भइरहेको बताए ।
विधानमा ७० वर्षको उमेरको सीमा तोकेको भएपनि सबैखालका उमेर समूहलाई समेटेर लैजानेबारे पनि छलफल भइरहेको बताए ।








