एनसेल प्रकरण : सर्वोच्चले माग्यो एनसेलसँग लिखित जवाफ

काठमाडौं । सर्वोच्च अदालतले एनसेलको शेयर खरिदबिक्री बारे एनसेल र नेपालका सरकारी निकायसँग लिखित जवाफ माग गरेको छ ।

सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले एनसेलको स्वामित्व बिक्री प्रकरणमा एनसेल आजियटा लिमिटेड, नेपालको दूरसञ्चार प्राधिकरणलगायतका निकायसँग लिखित जवाफ माग गरेको हो ।

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको ८० प्रतिशत शेयर आजियटाले गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बिक्री गरेर नेपालबाट बाहिरिएको छ ।

सो कारोबार शंकास्पद र अविश्वसनीय रहेको भन्दै नेपालमा सार्वजनिक रुपमा प्रश्न उठेका बेला सांसद सिंहले उक्त कारोबारलाई मान्यता नदिन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

एनसेलको शेयर बिक्रीमा कर छली भएको हुनसक्ने र ६ वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउने एनसेलको सम्पूर्ण सम्पत्ति जोगाउन शेयर खरिद बिक्रीको खेल भएको भन्दै सांसद सिंहले रिटमा उक्त कारोबारलाई मान्यता नदिन माग गरेका छन् ।

सर्वोच्चले यो विवादमा अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्नेबारे टुंगो लगाउन आगामी पुस १६ मा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

त्यस दिन अदालतले एनसेल आजियाटा लिमिटेड र नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिस्ट्रारको कार्यालयलगायत विपक्षीलाई बोलाएको छ । एनसेललाई शेयर खरिदबिक्रीको निर्णय र पत्र साथै लिएर आउन आदेश दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =