नेपालमा राजासहितको प्रजातन्त्रमात्रै सही र सफल हुन्छ : कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजासहितको प्रजातन्त्र मात्रै सही र सफल हुने बताएका छन् ।
गणतन्त्र छाडातन्त्र र भ्रष्टतन्त्रमा परिणत भएको जिकिर गर्दै उनले राजासहितको प्रजातन्त्र नै मुलुकका लागि उपयुक्त हुने दाबी गरेका हुन् ।
मंगलवार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले ठूला दलहरूले राजाको नाममा निरङ्कुश व्यवस्था ल्याउन आफ्नो पार्टीले खोजेको भनेर भ्रम सृजना गरेको उल्लेख गर्दै आफूहरू राजासहितको प्रजातान्त्रिक व्यवस्था स्थापना गर्न लागि लागि परेको बताए ।
उनले नेपालमा छिट्टै राज संस्था र हिन्दु राष्ट्र कायम हुने समेत दोहोर्याए ।
अध्यक्ष थापाले भने ‘हामी देशमा आन्दोलनको आँधीबेहरी सृजना गर्ने र चाँडोभन्दा चाँडो यो भ्रष्ट व्यवस्थालाई अन्त्य गर्ने हिन्दु राष्ट्र र राज संस्थालाई स्थापना गर्नसक्छौं भन्ने मलाई लाग्छ । यही कारणले गर्दाखेरि भ्रष्ट व्यवस्थाका संवाहकहरू अहिले आत्तिएका छन । अत्तालिएका छन् । आतङ्कित भएका छन् । र अनेक किसिमका भ्रमहरू सृजना गरिरहेका छन । म हरेक दिन आफूलाई प्रमुख भन्ने राजनीतिक दलका नेताहरूको अभिव्यक्ति सुनिराखेको छु । उनीहरूमा त्यो चिन्ता र त्रसित मानसिकता देखिन्छ । उनीहरु भ्रम सृजना गरिराखेका छन कि लोकतन्त्र समाप्त पारेर निरङ्कुशतन्त्र हाबी गराउन खोजिएको छ । गणतन्त्रलाई समाप्त पारेर राजाको निरंकुशतालाई स्थापना गर्न खोजिएको छ । हिन्दु राष्ट्र स्थापना गरेर अरु धर्महरूलाई थिचोमिचो गर्ने, दबाउने काम गर्न खोजी आम नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई प्रष्ट पार्न चाहन्छु । भ्रम सृजना गर्न खोजिएको छ । म आज यही कार्यक्रमको माध्यमबाट –प्रजातन्त्र भन्नुस् वा लोकतन्त्रको विकल्प छैन । यो वास्तविकतालाई हामीले बुझेका छौं । त्यसैले हामीले स्थापना गर्न खोजेको प्रजातन्त्रलाई समाप्त पारेर निरङ्कुशतन्त्र होइन, हामीले स्थापना गर्न खोजेको राजासहितको प्रजातन्त्र । जो नेपालमा सही र सफल प्रजातन्त्र हुन्छ । अहिलेको जस्तो छाडातन्त्र होइन । उहाँहरुले जसलाई लोकतन्त्र, गणतन्त्र भनिराख्नुभएको छ । यो छाडातन्त्र हो, मनपरीतन्त्र हो । यो सिन्डिकेट र भ्रष्टतन्त्र हो ।’
अध्यक्ष थापाले वर्तमान शासन व्यवस्थाले मुलुकलाई आर्थिक रुपमा पनि संकटको डिलमा पुर्याएको बताए । कार्यक्रममा नेकपा एमालेका नेता तथा पूर्व सांसद गोविन्दविक्रम शाह राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालमा प्रवेश गरेका थिए ।








