भृकुटीमण्डपका साना व्यापारीको माग पुरा गर्न मन्त्री आचार्यको निर्देशन

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले भृकुटीमण्डपका निम्न व्यवसायीहरको माग सम्बोधन हुनुपर्ने बताएका छन् ।

सोमवार भृकुटीमण्डपस्थित खुला बजारको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।

उनले आफ्नो कार्यकालमा जे भाषण गरिन्छ त्यो काम पूरा गर्नेगरी अघि बढेको बताए । उनले भृकुटीमण्डपको अस्तव्यस्ततालाई सुधार गर्न जरुरी रहेको बताए ।

उनले प्लास्टिकको छानालाई सेमि स्टलको रुपमा व्यवस्थित गर्न र ढल, खानेपानी, र शौचालयको व्यवस्थापनको काम एक महिना शुरु गरिसक्न भृकुटीमण्डप सञ्चालन विभागलाई निर्देशन दिए ।
उनले भने– ‘म चाहन्छु, मेरो कार्यकालमा जे बोलिन्छ, जे भाषण गरिन्छ, जे प्रतिवद्धता व्यक्त गरिन्छ । त्यो काम पूरा हुनुपर्छ । म आइसकेपछि विगत भन्दा केही बजेट यस पटक थपिएको छ । भृकुटीमण्डपको जुन अस्तव्यस्त अवस्था छ, त्यसलाई सुधार गर्नुपर्छ । त्यहाँका निम्न व्यवसायीहरुको माग सम्बोधन गर्नुपर्छ । यस पटक बजेट बढी छुट्याइएको छ, बजेट छुट्याउनु मात्रै होइन त्यसको कार्यान्वयन र काममा पनि परिणाम देखिनुपर्छ । तपाईहरुको प्रमुख समस्या भनेको यो प्लास्टिकको छानालाई सेमि स्टलको रुपमा व्यवस्थित गर्नुपर्छ भन्ने माग छ । यहाँका ढल, खानेपानी, र शौचालयको व्यवस्थापन हो । त्यसको लागि बजेट छुट्याएका छौँ । भृकुटीमण्डप सञ्चालन कार्यालयका रुपमा थियो पहिला अहिले विभागको रुपमा भएको छ । थप अधिकार प्राप्त भएको छ । यो अफिसले त्यो दिशामा अघि बढोस् र अहिलेको बजेटबाट ५ देखि ७ सय सेमि स्टलहरुको शुरु तत्काल हुनुपर्छ । एक महिनाभित्र यसका प्रक्रिया तत्काल शुरु हुनुपर्छ भन्ने निर्देशन गर्न चाहन्छु ।’

मन्त्री आचार्यले केही व्यापारीहरु भृकुटीमण्डपको व्यापार छोडेर अन्यत्र जान चाहने तर हक ट्रान्सफर नहुने समस्या रहेको भन्दै यस समस्या समाधानका लागि तत्काल पहल गर्न निर्देशन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =