दीक्षितहरूसँग राष्ट्रको भाग्य र भविष्य जोडिएको छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान शासन व्यवस्था विविधतायुक्त नेपाली समाजको एकताका लागि महत्वपूर्ण रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोहमा बोल्दै उनले जनताको ठूलो दुःख र त्याग पश्चात् यो शासन व्यवस्था आएको र यसले नेपाली समाजको एकता र समानता लागू गर्ने क्रममा रहेको पनि बताए ।
राष्ट्रपति पौडेलले त्रिभुवन विश्वविद्यालयबाट दीक्षित भएकाहरूसँग जनताको र राष्ट्रको भाग्य र भविष्य पनि जोडिएकाले सोही अनुसारको काम गर्नुपर्ने पनि बताए । उनले राष्ट्र र जनताप्रति दायित्व नभुली अघि बढ्न पनि शिक्षित युवाहरूले राष्ट्र निर्माणको काममा लागिपर्ने विश्वास समेत व्यक्त गरे ।
राष्ट्रपति पौडेलले सक्षम, सबल र समृद्ध राष्ट्र निर्माणका लागि शिक्षित युवाहरूको भुमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गरे ।
उनले भने ‘हाम्रो देशमा जनताको दुःख र त्यागपश्चात् जनता सार्वभौम हुने लोकतान्त्रिक व्यवस्था स्थापना भएको छ । समावेशी विशेषतायुक्त यस व्यवस्था र अहिलेको संविधानले सामाजिक एकता र समानता नेपाली समाजमा लागू गर्ने क्रममा रहेको छ । भौगोलिक, सांस्कृतिक र जातीय विविधतायुक्त हाम्रो नेपाली समाजको एकताका लागि यो अत्यन्तै महत्वपूर्ण पक्ष हो भनेर हामीले बुझन जरुरी छ । वर्तमान युगमा शिक्षाबिनाको समाजको कल्पना पनि गर्न सकिँदैन । त्यसैले शिक्षा विकासका लागि पर्याप्त नभए पनि नेपाल सरकारले शिक्षा क्षेत्रमा ठूलो लगानी गर्दै आएको छ । त्यसको प्रतिफल तपाईँहरूको परिश्रमसमेतका कारण आज तपाईँहरू यो स्थानमा हुनुहुन्छ । तपाईँहरूमा हाम्रो मुलुकको भाग्य र भविष्य जोडिएको छ । राज्यको लगानी भन्नुको तात्पर्य जनताकै लगानी हो । तसर्थ, यहाँहरूको राष्ट्र र जनताप्रति केही दायित्व र केही कर्तव्य छ । त्यो दायित्व र कर्तव्य निर्वाह गर्ने कुरामा यहाँहरू चुक्नु हुनेछैन भन्नेमा म आशावादी छु । साथै तपाईँहरूले प्राप्त गर्नु भएको ज्ञान, सीप र प्रविधि राष्ट्र निर्माणका लागि उपयोगी हुनेछ । र, एउटा सक्षम, सबल तथा समृद्ध राष्ट्र निर्माणका लागि आज दीक्षित हुने तपाई छात्रछात्राहरूको भुमिका महत्वपूर्ण हुनेमा म विश्वस्त छु ।’
राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असरका कारण नेपालको सगरमाथासहितका हिमालहरू काला पहाडमा रूपान्तरण हुन लागेकोमा चिन्ता व्यक्त गर्दै त्यसो हुन नदिन पनि शिक्षित युवाहरूले कार्बन उत्सर्जनको कामलाई न्यूनीकरण गर्दै लैजान नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने बताए ।








