ग्राउण्ड ह्याडलिङ प्रकरण : ११ दिनपछि आन्दोलन स्थगित

काठमाडौं । नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगन गरेको छ ।
सोमवार १३ औं दिनको दिनबाट उनीहरुले आन्दोलनका कार्यक्रमहरु हालका लागि स्थगित गरेका हुन् । उनीहरुले आईतवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँग छलफल गरेसँगै हालका लागि आन्दोलन स्थ्गित भएको बताए ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल राष्ट्रिय कर्मचारी संगठनका महासचिव महेशप्रसाद भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँतीसँगको भेटमा मन्त्री किराँतीले ग्राउण्ड ह्याडलिङको विषयमा मन्त्रीपरिषद्बाटै निर्णय हुने भएको प्रतिवद्धता जनाएपछि आन्दोलन स्थगित गरेको बताए ।
उनले मन्त्री किराँतीले नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङलाई सुरक्षित गर्ने र निर्णय गर्दा मन्त्रीपरिषद्ले गर्ने नजिर स्थापित गरेपछि स्थगन गर्ने निर्णय भएको बताए ।
मन्त्रालयले ग्राउण्ड ह्याडलिङको बारेमा नेपाल वायुसेवा निगमलाई पत्राचार गरेको र ग्राउण्ड ह्याडलिङको विषय सरकारले स्वामित्व लिने प्रतिवद्धता जनाएको बताए ।
उनले भने– ‘२०८० मंसिर १५ गते नेपालको हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले एउटा निर्णय गरेको थियो । इयु प्रतिवेदनलाई लिएर ब्ल्याक लिस्टबाट नेपालको हवाई क्षेत्र बाहिर निस्कन नसकेपछि उहाँहरुले वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङ प्रतिष्पर्धाको आधारमा दिने भन्ने विषयको निर्णय गर्नुभयो । हामी २० गतेबाट हाम्रा तालुक निकायहरुलाई जानकारी गराइकन हामीले संयुक्त रुपमा वायसेवा निगममा कार्यरत चार वर्ट क्रियाशील ट्रेड युनियनहरुको संयुक्त ट्रेड युनियन संघर्ष समिति गठन गरेर आन्दोलन गरेका थियौँ । यस क्रममा सरोकारवाला पक्षसँग छलफल गरेका थियौँ । १२ औं दिनमा सबैले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँग छलफल गरेका थियौँ । यो विषयलाई स्वामित्व लिनेगरी कुरा गरिसकेपछि नेपाल वायुसेवा निगमले गर्दै आएको ग्राउण्ड ह्याडलिङको विषयलाई निर्णय गर्दा नेपाल सरकार मन्त्रीपरिषद्ले स्वामित्व लिनेछ, यो विषयमा कुरा गरेपछि हामीले केही लिखित कुरा दिनुस् भन्यौँ । त्यसपछि हामी यो कार्यक्रममो मोडालिटी चेन्ज गर्छौं भन्यौँ र उहाँले चिठी पठाउनु भयो र यो आन्दोलनलाई रोक्ने र नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङलाई सुरक्षित गर्ने र भोलि निर्णय गर्दा मन्त्रीपरिषद्ले गर्ने नजिर स्थापित गरेपछि स्थगन भनेका छौँ ।’
नेपाल वायुसेवा निगम माथि पटकपटक गरिने आक्रमण बन्द गर्न पनि उनले आग्रह गरे ।








