किन सुस्तायो समाजवादी मोर्चा ?

काठमाडौं । चार दलीय समाजवादी मोर्चा सेलाएको छ । समाजवादको नेपाली बाटो तय गर्ने उद्देश्य राखेर घोषणा गरिएको मोर्चा ६ महिनामै सेलाएको हो ।
नेपाली विशेषताको समाजवाद निर्माण गर्ने प्रमुख लक्ष्य राखेर गत ४ असारमा बनेको समाजवादी मोर्चा मंसिरसम्म आइपुग्दा सुस्ताएको हो । भदौयता मोर्चाको बैठकसमेत बस्न सकेको छैन । असोज २९ गते सुदूरपश्चिमको धनगढीमा प्रदेशस्तरीय सभा सम्पन्न भएपश्चात् मोर्चाको कार्यक्रम पनि हुन सकेको छैन । त्यसयता मोर्चाको गतिविधि शून्यप्रायः छ ।
समाजवादसँगै विभेदको अन्त्य गर्ने, त्यसका लागि जनदबाब सृजना गर्ने, पिछडिएको क्षेत्रको विकासलाई प्राथमिकतामा राख्ने, राजनीतिक, आर्थिक र सांस्कृतिक रूपमा पछाडि पारिएका सीमान्तकृत समुदायका अधिकार प्रत्याभूत गराउनेजस्ता लोकप्रिय उद्देश्य मोर्चाले लिएको थियो । सत्तारूढ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा मोर्चामा सामेल छन् ।
मोर्चा घोषणा हुँदै यसको भविष्यलाई लिएर विभिन्न टीकाटिप्पणी भएको थियो । तर एकीकृत समाजवादीका उपाध्यक्ष तथा मोर्चाको केन्द्रीय सचिवालय समिति सदस्य सचिव प्रमेश हमाल भने नेताहरूको व्यस्तताको कारण समाजवादी मोर्चाका काम अगाडि बढ्न नसकेको बताउँछन् । ‘नेताहरूको व्यस्तताले उहाँहरू जुट्न सक्नुभएको छैन । त्यसैले समाजवादी मोर्चाका कामहरू गर्न विलम्ब भएजस्तो देखिन्छ,’ उनले भने, ‘नेताहरू सक्रिय भए तर, मोर्चा निष्क्रियजस्तो बन्यो ।’
मोर्चा सुस्ताएको नभई जिल्लास्तरका कार्यक्रममा केन्द्रित रहेको उनको तर्क छ । ‘मोर्चा सेलाएको छैन । मोर्चाले आफ्ना गतिविधि गरिरहेको छ,’ उनले भने, ‘अहिले जिल्लास्तरमा समिति गठन गर्ने काम भइरहेको छ । केन्द्रमा मिडियामा आउने गरी कुनै काम नभएको जस्तो देखिएको मात्रै होला । तर, मोर्चा सक्रिय नै छ ।’








