गणतन्त्रका लागि आन्दोलन गर्दा यिनीहरू बहुलाए भन्थे, लोकतन्त्र बचाउनुपर्छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मानव सेवा आश्रमका लागि सहयोग गर्न सबैलाई अपिल गरेका छन् ।
मानव सेवा आश्रममा चन्दा दिनुभन्दा ठूलो धर्म अरु नहुने प्रधानमन्त्री दाहालको भनाइ थियो । हेटौंडास्थित मानव सेवा आश्रमको मुख्य कार्यालय भवनको शनिवार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सो आश्रमको सहयोगका लागि आफूले निरन्तर कोशिस गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
सरकारले २०८२ सालसम्म मुलुकलाई सडक मानवमुक्त राष्ट्र बनाउने लक्ष्य लिएको उल्लेख गरे ।
त्यस अवसरमा प्रधानमन्त्री दाहालले प्रदेशहरुमा बन्न मानव सेवा आश्रमका भवन निर्माणमा संघ, प्रदेश र स्थानीय तह सबैबाट सहयोग जुटाउने काममा पनि आफू लागिपर्ने आश्वासन दिए ।
उनले भने– ‘तपाईहरुको भवन निर्माणमा संघबाट, प्रदेशबाट र स्थानीय तहबाट सबैतिर सहयोग जुटाउनेतिर पनि मेरो कोशिस हुन्छ । यहाँबाट अहिले मानवतासम्बन्धि एउटा नयाँ सन्देश नेपाल दिन सक्छ, दिन पर्छ भन्ने चेतनासहित रामजी अधिकारी र केही अभियन्ताहरु जसरी ज्यान छोडेर लाग्नुभएको छ । साच्चै उहाँहरु समर्पित भएर लाग्नुभएको छ । यो सम्भव छ भन्ने म पनि ठान्छु । मैले हिजो संघीय लोकतान्त्रिक गणतन्त्रको निम्ति थोरै मानिसहरुबाट एउटा आन्दोलन शुरु गर्दा मलाई पनि कतिपय धेरै हाम्रा पुराना अभिभावकहरुले भनौं अहिले म अरुत भन्न चाहन्न । यिनीहरु बहुलाए नै भन्थे । हामी बुहलाएका त थिएनौं । हामी एउटा उद्देश्यको निम्ति समर्पित भएर लाग्न खोजेका थियौं । १०÷११ वर्ष नपुग्दै त्यसले एउटा नतिजा त ल्यायो । हामी अहिले गणतन्त्रमा छौं । हामी पहिलोचोटी संविधानतः सार्वभौम नेपाली भएका छौं । यो भन्दा अरु ठूलो प्रतिष्ठा नेपालीको निम्ति अरु केही हुनै सक्दैन । हामी सार्वभौम नेपाली हौं । र, हामी मौलिक अधिकार प्राप्त भएका छौं भने रामजी अधिकारीजीले झण्डै ११ वर्ष तपस्या गरेर सात वटै प्रदेशमा यस्ता सेवा आश्रमहरु स्थापना गर्ने र त्योमार्फत हजारौँलाई सेवा दिने भन्न त सरकारले हामीले भनेका छौं–२०८२ सम्म नेपाललाई सडक मानवविहीन बनाउने । सहयोगापेक्षी मानवमुक्त नेपाल बनाउने भनेर लक्ष्य त निर्धारण गरिएको छ । तर यो रामजी अधिकारी र उनको योगदानले मात्रै यसलाई पूर्णता दिनसक्छ भन्ने प्रष्ट देखिएको छ । त्यस अर्थमा तपाईहरुलाई धेरैधेरै धन्यवाद । र, तपाईहरुलाई सहयोग गर्ने कुरामा यहाँबाट गएपछि पनि मेरो लगातार कोशिस हुन्छ । किनकी मानवताको निम्ति, पीडितहरुको निम्ति सेवा गर्नु भन्दा ठूलो धर्म केही पनि छैन । म यो मञ्चबाट के मात्रै भन्न चाहन्छु भने–हाम्रो परम्परा, हाम्रो संस्कृति, हाम्रो प्रचलन छ मन्दिरमा जाने, ठूल्ठूलो धनराशी त्यहाँ भेटी चढाउने । यस्ता त धेरै छन् । मैले अहिले त्यतापट्टी धेरै केही भन्न खोजेको होइन । तर अव हामी सम्पूर्ण नेपालीहरुले यो मानव आश्रमको मन्दिरहरुमा आएर भेटी चढाउने, त्यहाँ चन्दा दियो भने त्यो भन्दा ठूलो धर्म अरु केही हुनेछैन भनेर त्यो अपिल गर्दै विदा हुन्छु ।’
प्रधानमन्त्री दाहालले मानवीय सेवाको काममा समर्पित भएर लागि परेको भन्दै मानव सेवा आश्रममा त्यसमा संलग्न अभियन्ताहरुप्रति आभार पनि व्यक्त गरिन् ।








