राष्ट्रियसभा उम्मेदवार बन्न नेकपा एसमा हानथाप

काठमाडौं । राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि पदावधि सकिएर २० सिट रिक्त हुँदैछ । एमालेका नौ, कांग्रेसका चार, माओवादीका तीन, एकीकृत समाजवादीका दुई, जसपाका एक र एकजना स्वतन्त्र सांसद राष्ट्रिय सभाबाट बाहिरिँदै छन् । राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल तथा गठबन्धनको समर्थनबाट निर्वाचित स्वतन्त्र सांसद खिमलाल देवकोटा पनि राष्ट्रियसभाबाट बाहिरिँदैछन् । रिक्त १९ सिटको लागि निर्वाचन आयोगको परामर्शमा सरकारले माघ ११ गते निर्वाचनको मिति घोषणा गरिसकेको छ ।
एउटा सिटमा भने सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नेछन् । रिक्त १९ सिटमध्ये राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पनि आगामी फागुन २० गतेदेखि पदावधि सकिने भएको हो । निर्वाचनमा उम्मेदवार बन्न नेकपा एकीकृत समाजवादीभित्र नेताहरूको लर्को लागेको छ । पार्टी पदाधिकारीहरूमार्फत राष्ट्रियसभा सदस्यका नाम टिपाउनेको संख्या ठूलो छ । उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले मंगलबारसम्म करिब तीन दर्जनले राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउन सिफारिस आएको जानकारी दिए । सिफारिस नामहरूबारे पार्टी बैठकमा छलफल भने नभएको उनको भनाइ छ ।
पार्टी उपाध्यक्ष रहेका प्रमेश हमालले आफूलाई राष्ट्रियसभा सदस्य बनाउन अध्यक्ष माधव नेपाललाई चर्को दबाब दिएको नेकपा एसका नेताहरूको भनाइ छ । तर, हमालको हकमा अध्यक्ष नेपाल सकारात्मक भए पनि अन्य पदाधिकारीहरूको विरोध रहेको बताइएको छ । अर्का उपाध्यक्ष घनेन्द्र बस्नेत पनि राष्ट्रियसभा सदस्य बन्न आकांक्षी छन् । हमालको तुलनामा बस्नेतको पार्टीमा समेत लामो योगदान रहेकाले पार्टीमा सर्वसम्मत निर्णय हुनसक्ने नेताहरूको भनाइ छ ।
फागुनमा पदावधि सकिनेमध्ये एकीकृत समाजवादीका दुईजना सदस्य छन् । सो पार्टीबाट कर्णालीका नन्दा चपाईं र बागमतीबाट सिंहबहादुर विश्वकर्माको पदावधि सकिँदैछ । एकीकृत समाजवादीको चुनाव चिहृन कलमबाटै निर्वाचन जितेका तर पछि स्वतन्त्र बनेका खिमलाल देवकोटाको स्थानमा पनि एकीकृत समाजवादीले नै दाबी गर्ने गरेको छ ।
सरकारले निर्वाचनको मिति घोषणा गरेलगत्तै निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । प्रकाशित कार्यतालिका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन राजनीतिक दलहरूले मंसिर २९ गतेसम्म दल दर्ता गरिसक्नु पर्नेछ । दलहरूले पुस २३ मा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ । उम्मेदवारको विरोधमा उजुरी दिने मिति पुस २४ मा तोकिएको छ भने मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी अन्तिम नामावली २६ गते प्रकाशन हुने निर्वाचन आयोगको तालिकामा उल्लेख छ । उम्मेदवारले २७ गते नाम फिर्ता लिएपश्चात् उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । मतदान माघ ११ मा हुनेछ ।








