सरकारले सांस्कृतिक गाउँ बनाउन सुरु गरेको छ : मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीले सरकारले सांस्कृतिक गाउँ बनाउन शुरु गरेको बताएका छन् ।

शुक्रवार सांस्कृतिक संस्थानले आयोजना गरेको ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री किराँतीले सरकारले देशका केही ठाउँहरुमा सांस्कृतिक गाउँ बनाउन शुरु गरेको बताए ।

उनले एउटा गाउँबाट नेपालको पुरा सांस्कृतिक चित्र देखिने गरी सांस्कृतिक गाउँ बनाउन लागिएको बताए ।

उनले लोकगित, उखानटुक्का, कथा, मुन्धुम र कैरनहरुमा रहेका कतिपय विषयहरुलाई रेकर्ड गरेर राख्न मौखिक ज्ञान संग्रहालय बनाउन लागेको पनि बताए ।

त्यस्तै रैथाने विश्वविद्यालयको अवधारणा अघि सारेको उनले बताए ।

मन्त्री किरातीले आफुहरु संस्कृति ऐन निर्माणका लागि अगाडी बढेको पनि बताए ।

उनले भने – ‘संस्कृति क्षेत्रमा हामीले केही नयाँ काम गर्न खोजेका छौँ । जस्तो ३ हजार÷३५ सय वर्ष अगाडीको सम्पदा गाउँ निर्माण गर्नको निम्ति सानै भएपनि बजेट राखेर हामीले लुम्बिनीमा शुरु गरेका छौँ । सांस्कृतिक गाउँहरुको विकास गर्नको निम्ति हामीले केही ठाउँमा सुरुवात गरेका छौँ । जहाँ नेपाल सानो इलाकामा सर्लक्क देखियोस् । त्यसलाई सांस्कृतिक गाउँ भनौँ । संस्कृतिलाई अझ जगेर्ना गर्नको निम्ति, हाम्रो पुस्तादेखि पुस्तासम्म सर्ने हाम्रो संस्कृति छ । एउटा पुर्खा ढल्नु भनेको पुस्तकालय ढल्नु जस्तै हो । त्यो क्षति समाजले बेहोर्नु भन्दा आजैदेखि लोकगितको रुपमा रहेको, उखान टुक्काको रुपमा रहेको, विभिन्न मिथहरु, कथाहरु, मुन्धुमहरु, रिसियाहरुमा रहेको, कैरनहरुमा रहेको विषयलाई रेकर्ड गरेर राख्नको निम्ति मौखिक ज्ञान संग्राहलयको प्रस्ताव अघि सारेर पर्यटन बोर्डबाट ५० लाख रुपैयाँ पैसा व्यवस्थापन गरेर अगाडी बढाउन खोजिराखेका छौँ । यि सबै कुरालाई अझ सशक्त बनाउनको निम्ति रैथाने विश्वविद्यालयको पनि अवधारणा अघि सारेका छौँ । संस्कृति नीति निर्माण गर्नको निम्ति, ऐन निर्माण गर्नको निम्ति हामी अगाडी बढेका छौँ ।’

उनले सांस्कृतिक सम्पदाहरुलाई राष्ट्रको पुँजीमा बदल्नको निम्ति, उत्पादन र उद्योगमा संस्कृतिलाई जोड्नको निम्ति र नेपालको अनुहार एक मञ्चबाट विश्वलाई एक साथ देखाउनको निम्ति माटोको गीत सांस्कृतिक कार्यक्रम गरिएको बताए ।

उनले संस्कृतिको प्रवद्र्धन गर्न, पर्यटकलाई खुशी पार्न, कलाकारलाई रोजगारी सिर्जना गर्न र सांस्कृतिक संस्थानलाई कामकाजी बनाउन पनि सो कार्यक्रमको आयोजना गरिएको स्पष्ट पारे ।

उनले सांस्कृतिक कुटनीतिलाई विस्तार गर्ने उद्देश्यले पनि सो कार्यक्रम गरिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + fifteen =