ओलीको दाबी : एनसेल शेयर खरिद बिक्री प्रकरणमा सरकारको संलग्नता छ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एनसेल शेयर खरिद बिक्री प्रकरणमा सरकारको संलग्नता भएको आरोप लगाएका छन् ।
बिहीबार तेह्रथुममा महाकाली–मेची अभियानअन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले एनसेल बेच्ने तयारी भइरहेको भन्दै सरकारको संलग्नता बिना बेचिन नसक्ने दाबी गरे । उनले खर्बौँको कारोबार हुने र खर्बौँको मूल्य पर्ने कम्पनी केही अर्बमा मात्रै बिक्री गर्न लागिएको बताए ।
उनले देशलाई घाटा पारेर सरकारले जालझेल गरी अर्को कम्पनीमा कौडीका मोलमा नामसारी गर्न लागेको बताए । चार वर्षमा नेपाल सरकारकै स्वामित्वमा आउने कम्पनी कौडीका मूल्यमा सरकारले जालझेल गरेर बेच्न लागेको बताए ।
उनले नागरिकहरूले सरकारको संलग्नता छ भनेपनि सरकार बोल्न नसकेको बताए ।
उनले भने ‘हामीले चुनावमा भोट दिएर जिताइ पठाएका शासकहरू के गरिरहेका छन् अहिले । क्वीन्टलका क्वीन्टल सुन एयरपोर्टबाट भित्रिन्छ । कति किलो सुन सिग्रेट भनेर भित्रिन्छ । कति किलो दिनैपिच्छे सुनका सुन देशमा तस्करी भइरहन्छ । यस्तो कति हो कति तस्करी भइरहन्छ । सुनिन्छ अहिले एनसेल बेच्ने तयारी वा काम भइरहेको छ । यसमा सरकारको संलग्नता नहुने कुरै भएन । खर्बौँको कारोबार, खर्बौँको मूल्य पर्ने कम्पनी केही अर्बमा बिक्री हुँदैछ । सयौँ गुणा फरक छ यसमा । यत्रो अन्तर पारेर देशलाई घाटा पारेर अब तीन, चार वर्षपछि एनसेल आफैँ नेपाल सरकारको अण्डरमा आउने त्यस ठाउँमा सरकारले जालझेल गरेर अर्को कम्पनीमा नामसारी गरेर कौडीका मोलमा नामसारी गरेर कमीसनतन्त्रको जालोबाट देशलाई लुटतन्त्रमा लगेको छ । यो कुरा बाहिर आइरहेको छ । सरकार बोल्न सकिरहेको छैन । अवस्था यस्तो छ ।’
अध्यक्ष ओलीले सरकार कतिबेला ढल्छ भन्ने टुंगो नभएको जिकिर गरे । उनले यस्तो सरकार ढल्नै पर्ने र यो सरकार आफ्नै बोझले ढल्ने बताए ।








