संसदमा कार्यरत कर्मचारीहरूको सुविधा बढाउन अर्थमन्त्री र प्रधानमन्त्रीसँग छलफल गर्छु : मन्त्री गुरुङ

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसद सेवामा कार्यरत कर्मचारीहरूको सेवा, सुविधा बढाउन प्रयत्न गर्ने बताएका छन् ।
बिहीबार संघीय संसद सचिवालयद्वारा १७ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले संसद सेवामा कार्यरत कर्मचारीहरूको सेवा, सुविधा बढाउन प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले यस सन्दर्भमा अर्थमन्त्री र प्रधानमन्त्रीसँग छलफल गर्ने बताए । उनले पहिलो र दोस्रो संविधान सभाको पालामा संसदका कर्मचारीहरू रातभर काम गर्नुपरेको कुरा स्मरण गर्दै कर्मचारीहरूको कामप्रतिको लगावप्रति आफू नतमस्तक भएको बताए ।
संसदका कर्मचारीहरूको काम प्रतिको तदारुकता, जाँगर, परिश्रम र मेहनत अतुलनीय रहेको भन्दै उनले आफूले उनीहरूको दुःख बुझ्ने बताए । उनले आफू कर्मचारीहरूको मित्र भएको भन्दै उनीहरूको सुख, दुःखमा सधैँ साथ दिने बताए ।
उनले भने ‘म अर्थमन्त्री नभए पनि, संसदीय मामिला मन्त्री भएकै कारणले गर्दापनि विशेष–विशेष मेरो त्यसतर्फ ध्यानाकर्षण भएको छ । संघीय संसदका कर्मचारी साथीहरूको सेवा, सुविधाका सन्दर्भमा, आजसम्म भएका अप्ठ्याराहरूको सन्दर्भमा पूरै रुपमा मेरो ध्यानाकर्षण भएको छ । म यस सन्दर्भमा म मन्त्रीज्युहरुसँग बसेर छलफल गर्नेछु । र प्रधानमन्त्रीज्यूसँग पनि यो कुरामा छलफल गर्नेछु । मेरो कर्तव्य यही हो भन्ने मलाइ लागेको छ । पहिलो संविधानसभामा हामी नेताहरूको कारणले गर्दाखेरि कर्मचारी साथीहरूले बेस्सरी दुःख पाउनुभएको थियो त्यतिखेर । कहिलेकाहीँ आधा रातसम्म पनि संसद चल्थ्यो । त्यो क्रममा कति माननीय साथीहरू त कुर्सिमै निदाएको फोटोहरू पनि आउने गर्थ्यो । तर तपाईँहरू निदाएको फोटो कहिले पनि हामीले देख्न पाएनौँ । त्यो हो नि त कुरा खास गरेर । राजनीतिक नेताहरूले गर्नुपर्ने निर्णय समयमै गर्न नसक्दाको अवस्थामा ५ बजेसम्म मात्रै नभएर उल्टै बिहानको ५ बजेसम्म चल्दा पनि यहाँहरूको त्यो तदारुकता, जाँगर बडो गज्जबको थियो । डेडिकेशन भनेको त्यो हो । त्यो लगावप्रति म नतमस्तक छु । तपाईँहरूको परिश्रम, मेहनत अतुलनीय छ । दोस्रो संविधानसभामा पनि त्यस्तै भएको छ । यत्रो यात्रामा सँगसँगै भएको एउटा साथी हो म । साथी हुँ । तपाईँहरूलाई लाग्दा यो मन्त्री । मन्त्री पद त आउँछ, जान्छ । तर साथीत्व र भ्रातृत्व भन्ने कुरा त कहिल्यै जाने आउने गर्दैन नि । म तपाईँको साथी हुँ । तपाईँको मित्र हुँ । एउटा मित्रले अर्को मित्रको दुःख र सुख बुझ्दैन भने फेरि के को मित्र हुन्छ ? त्यसकारणले तपाईँको सुख र दुःखमा सँगै छु । प्रयत्न गर्ने ठाउँमा छु । प्रयत्न गर्छु ।’
उनले संसद सेवाको कर्मचारीहरूको वृत्ति विकासमा पनि ध्यान दिइने बताए ।








