संघीय संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्छ : देवराज घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

बिहीबार संघीय संसद सचिवालयद्वारा १७ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन् ।

उनले संसदको गरिमा कायम राख्दै संसदको भूमिकालाई प्रभावकारी बनाउन सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताए । उनले संसदको सन्दर्भमा विगतमा भएका विडम्बनापूर्ण व्याख्या, विश्लेषण र अनुभुतिहरुलाई आफूले गम्भीरताका साथ लिएको बताए ।

उनले संसदको गरिमालाई उच्च राख्नका संघीय संसद सचिवालयले संविधानले व्यवस्था गरे अनुरूपको काम गर्नुपर्ने बताए । उनले संसदलाई प्रभावकारी बनाउन सबैले आ–आफ्नो ठाउँबाट दायित्व र जिम्मेवारीहरु पूरा गर्नुपर्ने बताए ।

उनले आर्थिक अवस्था कमजोर हुँदा संघीय संसद सचिवालयले चाहेजस्तो काम गर्न नसकेकोतर्फ इंकित गर्दै मुख्य समस्या आर्थिक समस्या मात्रै नभएको उल्लेख गरे ।

उनले भने ‘म सेवा छुट्टै नभएको बेलाको यहाँको एउटा सहभागी हुँ । त्यतिबेला यो सभाको आकर्षण धेरै हिसाबले राम्रो थियो । खासगरी आर्थिक हिसाबबाट आकर्षण राम्रो थियो । तर देशको हालत के थियो ? म यो अवसरमा त्यो देशको हालत के थियो र त्यतिबेला आर्थिक रूपबाट आकर्षण कसरी थियो ? यतातिर फर्केर हेर्नुपर्छ भनेर म एउटा सांसदको नाताले पनि तपाईँहरूलाई भन्छु र अहिले सभामुखको नाताले पनि म त्यसलाई भन्न चाहन्छु । हामी यस्ता कुराहरू प्रति नीति बनाउँदा, नीतिलाई कार्यान्वयन गर्दा हाम्रो सर्वोच्च विधायिका संस्था संसदले सरकारलाई निर्देशित गर्दा, सरकारको कामहरूको अनुगमन गर्दा र सरकारलाई चाहिएको ऐनहरू बनाउँदा यी कुराहरू प्रति गम्भीर भएर हामीले छलफल गरिरहेका छौँ कि छैनौँ ? तदनुकुलको आचरण र व्यवहारहरू गर्नको लागि हामीले मेहनत गरिरहेका छौँ कि छैनौँ ? त्यसो गर्नका लागि व्यवस्थापनले दिनुपर्ने ध्यान दिइरहेको छ कि छैन ? आजको दिनमा यी कुराहरू पनि सोच्नुपर्छ भन्ने मलाई लाग्छ । हाम्रो गाउँघरमा उखान हुन्छ – म पछार्न त पछार्ने थिएँ, तर मलाई खुट्टै टेक्न दिइएन । हामी गर्न त धेरै गर्थ्यौ तर हाम्रो आर्थिक स्थिति नै कमजोर भयो । तर यो समस्याको समाधान गर्न नसकिने कुरा छैन । र मुख्य समस्या त्यो हो जस्तो लाग्दैन । मुख्य समस्या भनेको शक्ति पृथकीकरणको सिद्धान्त मात्रै होइन, विश्वव्यापी रूपमै संसदको भुमिका के हुन्छ ? संसदको गरिमा कसरी राख्न सकिन्छ ? संसदलाई कसरी प्रभावकारी पार्न सकिन्छ ? यसको विषयमा विगतका दिनहरूदेखि अहिलेसम्म आइपुग्दाखेरी हामीले विडम्बनापूर्ण व्याख्या, विश्लेषण र अनुभूतिहरू गर्नुपर्ने कुरालाई मैले पनि गम्भीरतासाथ लिएको छु । यसलाई अन्त्य गर्नका लागि, यसको गरिमालाई उच्च राख्नको लागि यसको प्रभावलाई प्रभावकारिताका साथ सम्पन्न गर्नको लागि, स्थायी रुपमा काम गरिरहेको सचिवालय जो संविधानको धारा १०७ ले व्यवस्था गरेको छ र तदनुकुलका कानुनहरू बनेको छन् । संघीय संसदको सचिवालयलाई प्रभावकारी पार्नको लागि के–के गर्नुपर्छ ? विगतका अनुभवहरू लिँदै राम्रा कामहरु गर्नको लागि के–के गर्नुपर्छ ? त्यसमा क–कसको के–के दायित्व छ ? यो सबै कुराहरूमा हामी जिम्मेवारीका साथ अगाडी बढौँ ।’

सभामुख घिमिरेले संघीय संसद सचिवालयका कर्मचारीहरूले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूलाई सहयोग पुर्याउनुपर्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 17 =