बारम्बार अवसर पाएकाहरूलाई राष्ट्रिय सभामा सहभागी गराउनु हुँदैन : गुरुराज घिमिरे

काठमाडौँ । नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले पटक पटक अवसर पाएकाहरूलाई राष्ट्रिय सभामा सहभागी गराउनु नहुने बताएका छन् ।
बुधवार शेखर—गगन समूहको बैठकमा सहभागी भई बाहिरिने क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले पटक पटक अवसर पाइसकेकाहरूको मूल्यांक भइसकेको र उनीहरूबाट कुनै राम्रो काम नभएको भन्दै अब नयाँलाई अवसर दिनुपर्ने बताए ।
उनले राजनीतिक जागिर खाएजस्तो कार्य सम्पादन गर्नेहरूलाई राष्ट्रिय सभा सदस्य बनाउन नसक्ने कुरा शेखर समूहका नेताहरुले पार्टी सभापति शेरबहादुर देउवालाई स्पष्ट भन्नुपर्ने बताए ।
उनले भने ‘पटक पटक अवसर पाएकाहरूलाई राष्ट्रिय सभामा सहभागी गराउनु हुँदैन, किनभने उहाँहरूको मूल्याङ्कन सबैले गरेको छ । उहाँहरुले के चमत्कार गर्नुभयो, हिजो अवसर पाउँदा मुलुक र डेमोक्रेसीका लागि के चमत्कार गर्नुभयो । राजनीतिक जागिर खाएजस्तो कार्य सम्पादन छ । फेरि अहिले अवसर दिनुपर्ने कारण के हो ? यो विषयमा महामन्त्री, उपसभापतिहरूले जिब्रो नचपाईकन स्पष्ट कुरा सभापतिसँग गर्नुपर्छ ।’
नेता घिमिरेले बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको बताए ।








