शेखर–गगन समूहमा कुनै फाटो आएको छैन : नेता केसी

काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले शेखर—गगन समूहमा कुनै फाटो नआएको दाबी गरेका छन् ।
बुधवार काठमाडौंमा बसेको काँग्रेस नेता डा.शेखर कोईराला गुटको बैठकपछि बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले आफूहरू लोकतन्त्रवादी भएकाले वाद, प्रतिवाद र संवादको प्रक्रिया भइरहने बताए । उनले महासमिति बैठक तोकिएकै समयमा हुनुपर्ने बताए ।
उनले नेपाल भ्रष्टाचारको काण्डले सिङारिएको भन्दै काँग्रेसले भ्रष्टाचारबिरोधी अभियान महासमितिबाट पारित गरेर जनतामा जानुपर्ने बताए ।
उनले भने ‘गुट भित्र कुनै फाटो आएको छैन, हामी लोकतन्त्रवादी हौँ । लोकतन्त्रवादी भनेकै वाद, प्रतिवाद र संवादको प्रक्रिया हो । विचारहरू आउँछन्, विचारमा विमति हुन्छ, कहिलेकहीँ व्यक्तित्व घर्षण र असन्तुलन पनि देखिन्छ । तर त्यसलाई छलफल र सहमतिद्वारा नै टुङ्ग्याउनुपर्छ । त्यो प्रयत्नमा हिजो पनि र आज पनि म निरन्तर रुपमा लागेको छु । हामीले कति पटक महासमिति बैठक सार्ने, त्यसैले तोकेकै मितिमा अधिवेशन हुनुपर्छ । नेपाल भ्रष्टाचारको काण्डै काण्डले सिङारिएको छ । काँग्रेसले भ्रष्टाचारबिरोधी अभियान महासमितिबाट पारित गरेर जनता जानुपर्छ ।’
नेता केसीले अहिलेसम्मका भ्रष्टाचारका प्रकरणहरूको छानबिन गरी अन्तिम फैसला गर्नुपर्ने बताए ।








