राष्ट्रिय सभा निर्वाचनमा अवसर नपाएकालाई अवसर दिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीले राष्ट्रिय सभा निर्वाचनमा अवसर नपाएकालाई उम्मेदवार बनाउनुपर्ने बताएका छन् ।
बुधवार संस्थापन इतर पक्षको भेला सकिएलगत्तै उनले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएका हुन् ।
महामन्त्री थापाले यसअघि निर्वाचन नलडेका र मौका पनि नपाएकाहरूलाई राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी बनाउनका लागि पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिने निर्णय गरेको पनि बताए ।
त्यसका लागि एउटा मापदण्ड बनाएर जाने विषयमा पनि छलफल गरिएको उनको भनाई थियो । त्यसैगरी बैठकले महासमिति बैठक सार्न नहुने निष्कर्ष पनि निकालेको छ ।
पार्टीको महासमिति बैठक पनि समयमै गर्नुपर्ने विषयमा पनि छलफल भएको महामन्त्री थापाले बताए । उनले बैठकमा सुशासनको पक्षमा जोड दिएर अघि बढ्न सरकारलाई पनि संगठित रुपमा दबाब दिन नेताहरूले जोड दिएको बताए ।
महामन्त्री थापाले भने ‘यो भन्दा अगाडि १४ औं महाधिवेशन पछाडि नेपाली काँग्रेसको अहिलेको नेतृत्व आइसकेपछि स्थानीय तहको चुनाव भयो । प्रतिनिधि सभाको चुनाव भयो । राष्ट्रिय सभाको चुनाव भयो । तीन वटा चुनावको उम्मेदवारी छनौट गर्ने काम भयो । यी चुनावहरूमा उम्मेदवारी छनौट गर्ने काम गर्दाखेरि एउटा यसले कुनै मापदण्ड बनाएन । अथवा हामीले मापदण्ड अनुसार काम गर्न सकेनौँ । दोस्रो चाहिँ एकदमै अन्यायपूर्ण व्यवहार भयो । पार्टी भित्रको मुख्य नेतृत्व पार्टीको सभापतिले सबैसँग न्यायपूर्ण व्यवहार गर्नुपर्ने ठाउँमा पार्टीको सभापति आफैँ एउटा समूहको संरक्षकजस्तो आफ्नो समूहमा जो छ, उसको लागि एउटा व्यवहार । जो आफ्नो समूहमा छैन । अझ महाधिवेशनमा आफूलाई मत दिएन । उसलाई हेर्ने अर्को नजर । सभापति भन्दा बाहेकले त्यो गर्ने बाँकी रहेकाले त्यो गर्ने कुरा त स्वाभाविक भए । तर सभापतिले यस्तो गर्नुभयो । त्यसकारणले गर्दा यो पटक राष्ट्रिय सभा निर्वाचनमा दुई वटा कुरा स्पष्ट हुनुपर्छ भनेर छलफल ग¥यौं । एउटा, मापदण्ड । नेपाली काँग्रेसको तर्फबाट राष्ट्रिय सभामा जाँदैछ भने राष्ट्रिय सभाको जुन स्पिरिट छ । संविधानको जुन स्पिरिट छ । यी सबै कुराहरूको आधारमा जो साथीहरू राष्ट्रिय सभामा जान योग्य हुनुहुन्छ । अहिलेसम्म मौका पाउनुभएको छैन । जसले यो भन्दा अघिको निर्वाचनमा भाग लिनुभएको छैन । ती साथीहरू जाने कुरा एउटा । दोस्रो कुरा भनेको चाहिँ न्यायपूर्ण कुरा । यो समूहले यति पाउनुपर्छ, उति पाउनुपर्छ भन्दा पनि सभापति चाहिँ यो पटक राष्ट्रिय सभाको टिकट बाँड्दै गर्दाखेरि सभापति सिङ्गो काँग्रेसको सभापति बन्न सक्नुहुन्छ कि हुन्न ? सभापति सिङ्गो काँग्रेसको सभापति बनाउने हो । र, यसका निम्ति हाम्रो तर्फबाट प्रेरित गर्ने, दबाब दिने काम गर्नुपर्छ भनेर आज हामीले एउटा यस विषयमा छलफल गरेको हो । दोस्रो कुरा महासमिति बैठकको बारेमा छलफल भयो । महासमिति बैठक समयमै गर्नुपर्छ भन्ने त भयो नै । त्यसबाहेक महासमिति बैठकले राजनीतिक कुरामा, सांगठानिक कुराहरूमा आजको दिनमा दिशा निर्देश गर्ने कुरा के हुनसक्छ के–के छन् भन्ने बारेमा प्रारम्भिक छलफल मात्रै भएको छ । यसका बारेमा थप छलफल गर्ने भनेर हामीले सल्लाह गरेका छौं । आज हामीले छलफल गरेको तेस्रो महत्वपूर्ण विषय भनेको चाहिँ सुशासनको विषयमा हो । एकपछि अर्को काण्डहरू सार्वजनिक हुँदै आउने र अनि, अहिले हामी नेपाली काँग्रेस आफैँ सरकारमा हुने । हामी सरकारमा भएका बेला यस्ता काण्डहरू एकपछि अर्को ढंगले सार्वजनिक हुँदै आउने । यी विषयहरूलाई हामीले सामान्य रुपमा लिनुहुँदैन । यस विषयमा नेपाली काँग्रेस भित्र संगठित रूपमै दबाब सृजना गर्नुपर्छ भन्ने बारेमा पनि प्रारम्भिक छलफल गरेका छौं । सुशासन विषय एक पछि अर्को काण्डहरू । यी विषयकहरूका सन्दर्भमा पार्टी भित्रै कसरी लडेर जाने । यसलाई कसरी शुद्ध बनाउने । सरकारमा भएका साथीहरूले यी विषयलाई कसरी लिने ? प्रारम्भिक छलफल गरेका छौं । थप छलफल आगामी दिनमा हुन्छ ।’
महामन्त्री थापाले सरकारलाई सुशासनको पक्षमा अघि बढाउन दबाब नै दिनुपर्ने अवस्था आएको पनि बताए ।








