विकास नीति संस्कृतिमैत्री हुनुपर्छ : सुदन किराँती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले देशको विकास नीति संस्कृतिमैत्री हुनुपर्ने बताएका छन् ।
बुधवार सांस्कृतिक संस्थानले आयोजना गर्न लागेको ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ घोषणा तथा पत्रकार सम्मेलनमा बोल्दै मन्त्री किराँतीले देशको विकास नीति संस्कृतिमैत्री हुनुपर्ने बताएका हुन् ।
उनले देशको विकास योजनाहरूमध्ये ५२ प्रतिशत विकासका योजनाहरू पूरा नहुनुको कारण सो योजना संस्कृतिमैत्री नहुनु रहेको बताए । विकास नीति तथा योजनाहरू संस्कृतिमैत्री नभएका कारण विभिन्न ठाउँमा बाधा तथा अवरोधहरू हुने गरेको उनको भनाई छ ।
मन्त्री किराँतीले संघीय संस्कृति निर्माण गर्नको निम्ति संघीय संस्कृति नीति अध्ययन समिति बनाइएको बताए । सो समितिले निर्माण गरेको प्रतिवेदनको आधारमा छिट्टै ऐन, कानुन बनाउँदै जाने उनले बताए ।
उनले संस्कृतिलाई उद्योगमा जोड्ने खालको नीति पनि तयार गर्नुपर्ने बताए ।
उनले भने ‘नीतिगत व्यवस्था, संघीय संस्कृति निर्माण गर्नको निम्ति हामीले संघीय संस्कृति नीतिको अध्ययन समिति बनाएका छौँ । त्यो समितिले निर्माण गरेको प्रतिवेदनको आधारमा हामी छिट्टै ऐन, कानुन बनाउँदै छौँ । संस्कृति उद्योगमा जोड्ने खालको नीति हामीले तयार गर्नुछ । अहिले विकसित राष्ट्रहरूले समेत सांस्कृतिक उद्योगमा एकदमै जोड दिइराखेको छ । विकसित देशहरूमा संस्कृतिहरू बिस्तारै बिस्तारै मर्दै गइरहेको छ । आधुनिकीकरणले किच्दै लगेको छ । संस्कृतिलाई जीवन्त राख्न, यसलाई उद्योग र उत्पादनसँग जोड्न र नेपालको प्रकृतिसँग जोडियो भने पर्यटन उद्योगमा बदलिन्छ भन्ने उद्देश्यले यो कार्यक्रमलाई स्थापित गराउन खोजेका छौँ । विकास नीति संस्कृतिमैत्री हुनुपर्छ । म एकदमै जोड गरेर लागिराखेको छु । अहिले हाम्रो देशको विकास नीति अथवा विकास योजनाहरू मध्ये ५२ प्रतिशत विकासहरू पूरा नहुनुको कारण संस्कृति अमैत्री भयो भन्छन् । मैत्री भएन । त्यसकारण विभिन्न ठाउँमा बाधा, अवरोध भएर हाम्रा आयोजनाहरू सफल हुन सकेको छैन भन्नेकुरा आजको तथ्यले देखाउँछ ।’
मन्त्री किराँतीको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै सांस्कृतिक संस्थानले मंसिर २९ गते ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ आयोजना गर्ने जानकारी गराइएको छ ।
सांस्कृतिक पर्यटनको विकासमा टेवा पुर्याउन, नेपालको लोकसंस्कृतिलाई विश्वमाझ चिनाउन विदेशी पर्यटकलाई लक्षित गरी सो कार्यक्रम गर्न लागिएको सांस्कृतिक संस्थानले जनाएको छ ।
सांस्कृतिक कार्यक्रमबारे जानकारी दिँदै मन्त्री किराँतीले संस्कृतिलाई उत्पादन र उद्योगमा जोड्दै विदेशी पर्यटकहरूलाई एकै ठाउँमा देशको अनुहार देखाउने उद्देश्यसहित कार्यक्रम गर्न लागिएको बताए ।
उनले नेपाली संस्कृतिको प्रवर्द्धन गर्नका लागि सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।
उनले भने ‘सांस्कृतिक सम्पदालाई राष्ट्रको पुँजीको रुपमा हामीले बदल्नु छ । राष्ट्रको पुँजीमा हामीले बदल्न सक्यौँ भने स्वाभाविक रुपमा पर्यटनसँग जोड्नै पर्छ । उत्पादन र उद्योगमा संस्कृतिलाई जोड्ने र नेपालको अनुहार एउटै मञ्चबाट प्रस्तुत गर्ने सांस्कृतिक संस्थान हो । विदेशी पाउनाले एक, डेढ घण्टामा संस्कृति मात्रै हेर्दैनन् । यो देशको अनुहार पनि हेर्नेछन् । यो हाम्रो मनसाय हो । पर्यटकलाई खुसी पार्न, पर्यटकलाई अलमल्याउन र आफ्नो देशको संस्कृतिको प्रवर्द्धन गर्न र कलाकारिताको क्षेत्रमा व्यापक रूपले रोजगार सिर्जना गर्न अर्थात् रोजगारमा जोड्न मुख्यतः सांस्कृतिक संस्थानलाई कामकाज बनाउने उद्देश्यले पर्यटन बोर्डबाट पैसाको व्यवस्था गरेर,पर्यटन प्रवर्द्धनकै लागि हामीले यो काम गरेको कुरा स्पष्ट गराउन चाहन्छु ।’
प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने सांस्कृतिक कार्यक्रममा नेपालको मौलिक एवं रैथाने संस्कृति, सभ्यता, रहनसहन तथा जीवनशैली झल्कने प्रस्तुतिहरू देखाइने जनाइएको छ ।
कार्यक्रममा सहभागिता जनाउनका लागि नेपाली नागरिकलाई ५ सय, टिमेकी मुलुक भारत र चीनका नागरिकलाई १ हजार र अन्य विदेशी नागरिकका लागि एक हजार पाँच सयको टिकटको व्यवस्था गरिएको बताइएको छ ।








