प्रविधिलाई थप परिस्कृत गर्न ‘सगरमाथा टेक फेष्ट’

काठमाडौँ । प्रविधि प्रेमी, प्राविधिक विषय अध्ययनरत विभिन्न तहका विद्यार्थी तथा प्राविधिक व्यवसायीलाई समावेश गर्दै प्रविधिको क्षेत्रलाई थप परिस्कृत गर्ने ध्येयले सगरमाथा इञ्जिनियरिङ्ग कलेज तथा सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजी ललितपुरले ‘सगरमाथा टेक फेष्ट २०२३’ आयोजना गर्ने भएको छ ।

प्राविधिक विद्यार्थीको खोज एवं रचनात्मक कार्यको जमघटका रुपमा आयोजित दोस्रो संस्करणको यो मेला यही मङ्सिर २९, ३० र आगामी पुस १ सम्म सञ्चालन हुनेछ । मेलाका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कलेजका प्राचार्य रमेश श्रेष्ठले विद्यार्थीले आर्जन गरेको शिक्षा र क्षमताको प्रदर्शन गरी उनीहरुको नवीनतम सीपको उपादेयतालाई मूल्याङ्कन गर्न गराउन यस मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

उनले भने, ‘सामूहिक सहकार्य र ज्ञान तथा चेतनाको आदान प्रदानद्वारा आजको ‘कनेक्टिभिटी’ युग सापेक्षित समाजमा प्रविधिको मागलाई सम्बोधन गर्न यस मेलाको आयोजना गरिएको हो ।’ सन् २०१९ मा सम्पन्न पहिलो संस्करणको ‘सगरमाथा टेक फेष्ट’मा पाँच हजार भन्दा बढीको सहभागिता रहेको जनाइएको छ ।

प्राविधिक शिक्षाको व्यावहारिक ज्ञान र अभ्यासलाई मौलिक ढङ्गले प्रस्तुत गर्न कलेजमा विद्यार्थीका सोसाइटी एवं क्लब क्रियाशील छन् । ती क्लबले आफ्ना विषय वस्तुका कार्यक्रम पनि समय समयमा प्रस्तुत गर्ने गर्दछन् ।

यस्ता छन् ‘सगरमाथा टेक फेष्ट’ का आकर्षण

टेक फेस्ट आयोजक समितिका संयोजक सहप्राध्यापक सुबोध शर्मा गौतमले विज्ञान, प्रविधि र इञ्जिनीयरिङ्गको आकर्षक मेला रहने यस फेस्टमा विभिन्न प्रविधिमुखी एवं प्रतिस्पर्धी कार्यक्रमको आयोजना गरिने जानकारी दिए ।

कम्प्युटर, इलेक्ट्रोनिक्स, सिभिल र सिएसआई टि र विसिएलगायत विभिन्न सङ्कायद्वारा आफ्नो क्षेत्रको विशेषता झल्काउने विभिन्न कार्यक्रम आयोजना गर्नेछन् । कार्यक्रममा प्रोजेक्ट एक्जिविसन, रोबो सकर, ब्याटल बट, हकाथन, पेपर वृज, ड्राफ्टिङ्ग अभ्यास, इञ्जिनीयरिङ क्विज, रिभर्स् इञ्जिनीयरिङ र कम्प्युटेटिभ प्रोग्रामिङ आदि हुनेछन् ।

यस्ता प्रतियोगितामार्फत देशमा छरिएर रहेका विभिन्न प्रतिभालाई प्रष्फुटन गर्ने र कला एवं सीपमा आधारित ज्ञानको प्रवर्धन गर्ने लक्ष्य यस फेस्टका रहेको छ । सहभागीले प्राविधिक क्षमता र विज्ञानको प्रदर्शनीको अवलोकन गर्न पाउने जनाइएको छ ।

खेल प्रेमीका लागि ई स्पोर्टस् र अन्य मनोरञ्जनात्मक खेलको व्यवस्था पनि रहेको छ । सो फेस्टमा विभिन्न ‘जब फेष्ट’ कम्पनीद्वारा आयोजित प्रदर्शनी कक्ष पनि हुने र यसबाट विद्यार्थी र कम्पनी/उद्योगबीच व्यावसायिकसम्बन्ध समेत निर्माण हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

त्यसैगरी फेष्टमा विभिन्न कार्यशाला र तालिम जस्तै सफ्टवेयर फेलोसिप, प्रेजेन्टेशन वर्कशप, विजनेस मोडल क्यानभास, ड्रोन कार्यशाला लगायतका पनि हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =