को बन्ला राष्ट्रियसभा अध्यक्ष ?

काठमाडौं । राष्ट्रियसभा अध्यक्षको लागि सत्ता गठबन्धनमा रस्साकस्सी सुरु भएको छ । गठबन्धन दलमा १९ राष्ट्रियसभा सदस्यको निर्वाचन नहुँदै अध्यक्ष बन्नका लागि रस्साकस्सी सुरु भएको हो ।
राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि पदावधि सकिएर २० सिट रिक्त हुँदैछ । एमालेका नौ, कांग्रेसका चार, माओवादीका तीन, एकीकृत समाजवादीका दुई, जसपाका एक र एकजना स्वतन्त्र सांसद राष्ट्रिय सभाबाट बाहिरिँदै छन् । राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल तथा गठबन्धनको समर्थनबाट निर्वाचित स्वतन्त्र सांसद खिमलाल देवकोटा पनि राष्ट्रियसभाबाट बाहिरिँदैछन् । रिक्त १९ सिटको लागि निर्वाचन आयोगको परामर्शमा सरकारले माघ ११ गते निर्वाचनको मिति घोषणा गरिसकेको छ ।
एउटा सिटमा भने सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नेछन् । रिक्त १९ सिटमध्ये राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पनि आगामी फागुन २० गतेदेखि पदावधि सकिने भएको हो । राष्ट्रियसभा अध्यक्षका लागि गठबन्धनको मुख्यघटक नेपाली कांग्रेस, गठबन्धनको तर्फबाट सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले अध्यक्षको लागि दाबी गरेका हुन् ।
हाल माओवादीबाट उर्मिला अर्याल राष्ट्रियसभा उपाध्यक्ष छन् । माओवादीले उपाध्यक्ष पद छाडेर अध्यक्ष लिन चाहेको माओवादी नेताको भनाई छ । प्रतिनिधिसभाको सभामुख एमालेबाट चयन भएकाले राष्ट्रियसभा अध्यक्ष आफ्नो हुनुपर्ने तर्क माओवादीले अघि सारेको छ । सत्ता गठबन्धनको एक घटक नेकपा एसले सरकारको महत्वपूर्ण शक्ति भएकाले संवैधानिक पद राष्ट्रियसभाको अध्यक्ष पाउनुपर्ने दाबी गरेको छ । कांग्रेसले पनि गठबन्धनका शीर्ष नेताहरूको बैठकमा अनौपचारिक रूपमा राष्ट्रियसभाको अध्यक्षको दाबी गरेको छ ।
नेपाली कांग्रेसका पूर्व–उपसभापति एवं सांसद विमलेन्द्र निधिले अध्यक्षमा आफूहरूको दाबी स्वाभाविक रहेको जिकिर गरे । ‘गठबन्धनमा छलफल हुन बाँकी छ तर कांग्रेसबाट राष्ट्रियसभा अध्यक्ष हुनुपर्छ,’ उनले भने, ‘आफूहरूको दाबी स्वाभाविक हो ।’
कांग्रेसमा राष्ट्रियसभा सदस्य हुन नेताहरू गोपालमान श्रेष्ठ र कृष्णप्रसाद सिटौलाले लबिङ सुरु गरिसकेका छन् । राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित भएर अध्यक्ष हुने दुवैको चाहना छ । श्रेष्ठ विगतदेखि नै देउवा समूहका नेता हुन् भने सिटौलाले कांग्रेसमा छुट्टै समूह बनाएर नेतृत्व गरिरहनु भएको छ । यद्यपि, देउवालाई दुवैपटक सभापति निर्वाचन गराउन सिटौलाले महत्वपूर्ण भूमिका खेलेका थिए । गठबन्धनमा अध्यक्ष कांग्रेसको भागमा परेको अवस्थामा सिटौलाको सम्भावना बढी छ । किनकि शान्तिप्रक्रिया सुरु भएदेखि नै प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिटौलाप्रति सकारात्मक रहँदै आएका छन् । शान्ति प्रक्रिया र संविधान लेखनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सिटौलाप्रति प्रचण्ड सकारात्मक रहेको माओवादीकै नेताहरूको भनाई छ ।
गठबन्धनमा आलोपालो प्रधानमन्त्री हुने सहमति रहेको स्मरण गर्दै माओवादी केन्द्रका एक नेताले भने, ‘कांग्रेसबाट शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि माओवादीले लिने संवैधानिक प्रमुख पद राष्ट्रियसभा हो । त्यसकारण राष्ट्रियसभा अध्यक्षमा हाम्रो दाबी रहन्छ ।’ एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले राष्ट्रियसभा निर्वाचनबारे गठबन्धनमा अनौपचारिक छलफल सुरु भइसकेको बताए । ‘माओवादीको प्रधानमन्त्री, कांग्रेसको राष्ट्रपति, जसपाको उपराष्ट्रपति पद सुरक्षित हुँदा हामीले राष्ट्रियसभाको अध्यक्षमा दाबी गर्नु व्यावहारिक हुन्छ,’ उनले भने, ‘सत्ता गठबन्धनको एउटा महत्वपूर्ण दल भएकाले राष्ट्रियसभा अध्यक्षमा हाम्रो दाबी रहन्छ । यद्यपि, यसबारे गठबन्धनमा औपचारिक छलफल हुन बाँकी छ ।’
सरकारले निर्वाचनको मिति घोषणा गरेलगत्तै निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । प्रकाशित कार्यतालिका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन राजनीतिक दलहरूले मंसिर २९ गतेसम्म दल दर्ता गरिसक्नु पर्नेछ । दलहरूले पुस २३ मा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ । उम्मेदवारको विरोधमा उजुरी दिने मिति पुस २४ मा तोकिएको छ भने मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी अन्तिम नामावली २६ गते प्रकाशन हुने निर्वाचन आयोगको तालिकामा उल्लेख छ । उम्मेदवारले २७ गते नाम फिर्ता लिएपश्चात् उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । मतदान माघ ११ मा हुनेछ ।








