इजिप्टको राष्ट्रपतीय निर्वाचनमा ४५ प्रतिशत मतदान

एजेन्सी । इजिप्टको राष्ट्रिय निर्वाचन प्राधिकरण सोमवारसम्म राष्ट्रपति चुनावमा मतदान कुल योग्य मतदाताहरूको लगभग ४५ प्रतिशत पुगेको छ ।
सबै प्रान्तका मतदान केन्द्रहरूमा उच्च मतदाताको उपस्थिति रहेको छ । विशेष गरी देशभरका करिब ३६० गैरआवासीय मतदान केन्द्रहरूमा मतदान भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक र केन्द्रीय सञ्चालन कक्षका प्रमुख अहमद बेन्डारीले बताए ।
देशभरका ९ हजारभन्दा बढी मतदान केन्द्रमा ६ करोड ७० लाख नागरिक मतदान गर्न योग्य रहेको जनाएको छ । मतदानको दिनमा देशबाहिर जाने कामदारलाई मतदान गर्न सहज बनाउन प्रत्येक प्रदेशमा गैरआवासीय मतदान केन्द्र स्थापना गरिएको छ ।
बेन्द्रीले देशका सबै मतदान केन्द्रमा निर्वाचन प्रक्रिया सुचारु रुपमा अघि बढेको बताए ।
इजिप्टमा आइतबार राष्ट्रपतीय निर्वाचनको मतदान सुरु भएको थियो । जसमा वर्तमान राष्ट्रपति अब्देल–फताह अल–सिसीसहित चार उम्मेदवारले प्रतिस्पर्धा गरेका छन् ।








