मौद्रिक नीतिको समीक्षामा नीतिगत लचकता अपनाए पनि अर्थतन्त्रमा दबाब छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत लचकता अपनाए पनि मुलुकको अर्थतन्त्रमा दबाब कायम रहेको दाबी गरेका छन् ।
सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री दाहालले नेमपालको अर्थतन्त्र निकै ठूलो दबाबमा रहेको भन्दै सरकारले लगातार रुपमा सुधारको प्रयास गरिरहेको बताए । उनले सुधारको प्रयासकै क्रममा राष्ट्र बैंकबाट मौद्रिक नीतिको समीक्षामार्फत भएका नीतिगत र व्यवहारिक निर्णयले अर्थतन्त्रमा सहज करण गर्ने भए पनि अर्थतन्त्र अझै दबाबमा रहेको दाबी गरे ।
उनले सरकारले राजनीतिक दलका नेता, निजी क्षेत्र र अर्थतन्त्रका विज्ञहरूसँग छलफल गरेर अर्थतन्त्र सुधारको लागि दिएको निर्देशनको आधारमा राष्ट्र बैंकले बैंकको ब्याजदर घटाउने, लघुवित्तका ऋणहरू र व्यवसायीहरूको ऋण फिर्ता गर्ने समय अवधि थप गरेको दाबी गरे ।
उनले सरकारले निजी क्षेत्रको माग अनुसार नीतिगत सुधार गरेको भन्दै निजी क्षेत्र सुखी भएको उल्लेख गरे । उनले राष्ट्र बैंकले नीतिगत रुपमा गरेको सुधारबाट निजी क्षेत्रले सकारात्मक भए पनि देशको अर्थतन्त्र माथिको दबाब कायमै रहेको जिकिर गरे ।
उनले अर्थतन्त्रको तथ्याङ्कहरू हेर्दा सुधार भएको देखिए पनि वास्तविकतामा अर्थतन्त्रमा दबाब अझै रहेको बताए । उनले रेमिट्यान्स,राजश्व, विदेशी मुद्राको सञ्चिती वृद्धि र पर्यटन आगमन बढे पनि अर्थतन्त्रको वास्तविक रुपमा हेर्दा जनतामा उत्साह र आशा जाग्न समेत नसकेको बताए ।
उनले भने ‘जनतालाई भ्रमित पार्ने षड्यन्त्र भइरहेको छ । यो बीचमा केही समस्याहरू भए । नेपालको अर्थतन्त्र निकै ठूलो दबाबमा छ । सरकारले आफ्नो ठाउँबाट लगातार सुधारको प्रयास गर्दै जाँदा राष्ट्र बैंकबाट भएका नीतिगत र व्यवहारिक निर्णयले अर्थतन्त्रमा सहज करण गर्ने अवस्थासम्म आइपुगेको छ । मैले देशका सबै राजनीतिक दलका नेता,निजी क्षेत्रका सबै प्रतिनिधिहरू र विज्ञहरू बीच गम्भीर विमर्श गराएर केही निर्देशन जारी गरेको थिए । त्यही निर्देशन कार्यान्वयन गर्ने सन्दर्भमा राष्ट्र बैंकले बैंकको ब्याजदर घटाउने, कुरामा सहज करण गर्ने जस्ता काम भए । सरकारले निजी क्षेत्रले भनेको जस्तो नीति आएको भनेर अब अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै जान्छन् भनेर निजी क्षेत्रले भनेका छन् । तर त्यति हुँदा पनि नेपालको अर्थतन्त्र माथिको दबाब हटेको छैन । अझै पनि दबाब कायम नै छ । फर्मल तथ्याङ्कहरू हेर्दा तथ्याङ्कले एउटा कुरा भन्छ । रेमिट्यान्स बढ्यो, राजश्व पनि बढी रहेको छ । पर्यटन बढी रहेको छ । विदेशी मुद्राको सञ्चिति बढेको छ । सबैकुरा राम्रा छन् । दक्षिण एसियामा तुलना गर्दा हाम्रो राम्रो अवस्था छ । तर अर्थतन्त्र वास्तविक जीवनमा के भएको छ भने हेर्यो भने जनतामा उत्साह र आशा जागेको छैन ।’
प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारको लागि सरकारले आगामी नीति तथा कार्यक्रम र बजेट मार्फत संरचनागत सुधार गर्ने तयारी गरिरहेको बताए । उनले अर्थतन्त्र सुधारको लागि ठूलो रिफर्मको आवश्यकता रहेको भन्दै सरकार त्यो काम गर्ने तयारीमा रहेको पनि बताए ।








