देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्छ : सुशिला कार्की

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीले देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्ने बताएकी छन् ।

आइतबार मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित ‘लोकतन्त्रको प्राणः सुशासन र सद्भाव’विषयक नागरिक संवाद कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश कार्कीले देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्ने बताएकी हुन् ।

उनले देशमा सबै कुराहरू राम्रो भएपनि नेताहरू भने भ्रष्ट रहेका बताइन् । उनले भोलि आउने नेताहरू पनि भ्रष्ट हुने अवस्था रहेको भन्दै देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनु जरुरी रहेको बताइन् ।

उनले भ्रष्टाचारको सन्दर्भमा नेताहरूलाई मात्रै दोष दिन भने नमिल्ने बताइन् । उनले देशमा भ्रष्टाचार गर्न अघि नबढ्ने कोही नभएको भन्दै सबैले भ्रष्ट मानसिकतालाई त्याग्नुपर्ने बताइन् ।

उनले भनिन् ‘हामी धेरै निराश पनि हुनुहुँदैन । मुलुक छ हामीसँग । माटो छ । राज्य बन्ने कुरा त जनता पनि छ । सबै कुरा छ नभएको होइन । एउटै हामीसँग बेकम्मा के पर्योै भने भ्रष्ट नेताहरू पर्यो । तर एकदिनको कुरा होइन । भोलि आउने पनि यस्तै हुन्छ । अहिले जो नयाँ–नयाँ भएर आएका छन् त्यो पनि त्यस्तै हुन्छ । तर वातावरण बनाउनु पर्यो । भ्रष्टाचार नगर्ने वातावरण मुलुकमा हुनु जरुरी छ । यिनीहरूलाई मात्रै तपाई, हामीले दोष दिन मिल्दैन । हामीमध्ये धेरै पनि त्यस्तै छौँ । पुग्यो भन्ने कोही छैन । भ्रष्टाचार गर्नलाई अघि नबढ्ने कोही छैन । आफूलाई नहुञ्जेलसम्म बोल्ने, अनि आफूलाई भइसकेपछि पुग्ने ।’

पूर्वप्रधानन्यायाधीश कार्कीले सरकारको मानसिकता ‘जफत गर्ने’ मात्रै भएको टिप्पणी गरिन् । उनले नागरिकसँग भएका जेथाहरू समेत राजनीतिक दलका कार्यकर्ताले जफत गर्ने गरेका बताइन् ।

उनले राजनीतिक दलहरू सँग गुण्डा, फटाहा र मवाली मात्रै कार्यकर्ताहरू रहेका उनले बताइन् । आम नागरिकमा आर्थिक अभाव भएपनि दलका कार्यकर्ताहरूसँग भने करोडौँ सम्पत्ति भएको उनको भनाई छ ।

उनले भनिन् ‘अहिलेको सरकारको मानसिकता मैले कस्तो देखिरहेको छु भने यिनीहरूको खालि कसरी हुन्छ जफत गर्ने । जो सँग अलिअलि जेथा थियो त्यो पनि यिनीहरूले जफत गरिसकेँ । गुण्डा, फटाहा, मवाली तिनै न हुन् यिनीहरूको कार्यकर्ता । हुन त उनीहरुले चाहेर गुण्डा, मवाली लिएका होइन । तर यिनीहरूसँग अब को आउने ? त्यही त हो । यिनीहरूको काम गर्न त्यही गुण्डा, मवाली बाहेक अब बाँकी छैन । तिनै जान्छन् । तिनैले गर्न सक्छन् । अरुले त सक्दैनन् । यिनका तलका कार्यकर्ता भनेको एसएलसी पास पनि छैनन् । त्यस्ता कार्यकर्ता जो करोडौँ–करोड सम्पत्ति लिएर बसेका छन् । यो हालत यो देशको छ । यी कारणले गर्दा व्यवस्था नै जाने भन्ने कुरा त आउँदैन । यो व्यवस्था भारतमा ठिक हुने, इंल्याण्डमा ठिक हुने । अमेरिकामा हुने । सबैतिर हुने । अर्को कुरा, संविधानको कुरामा, मेरो तर्क के छ भने संविधानमा लेख वा नलेख राम्रो कुरा गर्नलाई संविधानले कहिल्यै पनि रोक्दैन । राम्रा कुराहरू संविधानमा छैन भन्दैमा गर्न नपाइने भन्ने कुरा त होइन नि । गर्न पाइन्छ नि । संविधानका कतिपय प्रावधान त अमेरिकामै पुगेको छैन । सबै लेखेजति प्रावधान त नपुग्न पनि सक्छ । तर त्यति भनेर संविधान खराब पनि भन्न सकिँदैन । संविधानमा केही कुरा खराब छन् भने संशोधन गर्दै गर्दै समय सापेक्ष परिवर्तन गर्दै लानुपर्ने हुन्छ ।’

पूर्वप्रधानन्यायाधीश कार्कीले देशमा देखिएका विसङ्गतिका कारण व्यवस्था जाने अवस्था भने नआउने बताइन् । उनले संविधानमा देखिएका समस्याहरूलाई भने संशोधन गर्दै जान सकिने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 11 =