लोसपामा विवाद : राजेन्द्र महतोले गरे बैठक बहिष्कार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय समिति बैठक आइतबार बस्दै छ ।
बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बस्न लागेको बैठक बिहान १२ बजेबाट सुरु हुने उनले जानकारी दिए ।
बैठकमा राष्ट्रिय सभाको निर्वाचन, पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने महासचिव केशवकुमार झाले जानकारी दिए ।
‘बैठक बिहान ११ बजे नै बोलाइएको हो । तर सदस्यहरू नआइपुगेकाले एक घन्टाजति धकेलिएको छ,’ उनले भने ।
आजको बैठक वरिष्ठ नेता राजेन्द्र महतोले भने बहिष्कार गर्ने भएका छन् । यसअघिको केन्द्रीय समिति बैठकले गरेको सदस्यहरूको मनोनीतको विषयलाई लिएर उनले आपत्ति जनाइरहेका छन् । महन्थ ठाकुर पक्षले तराई–मधेसमा क्रियाशीलहरूलाई नेताहरूलाई छुटाएर आफूखुसी केन्द्रीय समिति विस्तार गरेको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।
अध्यक्ष महन्थ ठाकुरलाई आफूले निर्णय सच्याउन भनेको र नसच्याए सम्म केन्द्रीय समितिको बैठकमा सहभागी नहुने महतोले बताए ।








