एकै रात ६ घरमा चोरी

बागलुङमा एकै रातमा ६ वटा घरमा चोरी भएको छ।
जिल्लाको बडिगाड गाउँपालिका–५ खौलार बजारमा ६ घरमा घरबाट सुनसहित पाँच लाख रूपैयाँ बराबरको धनमाल चोरी भएको हो।
गाउँपालिकाको केन्द्र नजिक रहेको बजारका एकै रातमा आधा दर्जन घरमा चोरी हुँदा स्थानीय त्रसित भएका छन्।
बजारको पाँच पसलबाट नगद र एक घरबाट सुनचाँदी चोरी भएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन्।
सबै घरका ताल्चा फुटालेर चोर प्रवेश गरेको स्थानीयको भनाइ छ। चोरी भएका हरेक पसलमा घरको पछाडिबाट च्यानल गेटको ताल्चा फुटाएर चोरी भएको छ।
चोरी भएको खरेल भाँडा पसल तथा हार्डवयरको सिसी क्यामरामा एक अधवैंसे पुरूष अनुहारमा मुखुण्डो र पिपिई लगाएर घरको पछाडिबाट छिरेर काउन्टरको घर्रासहित चोरी गरेको देखिन्छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन केसीले सिसी क्यामराद्वारा घटनाको सुक्ष्म अनुसन्धान गरिने बताए।








