गण्डकीमा एकीकृत समाजवादीलाई मन्त्रिपरिषद्मा सहभागी गराउने सहमति पालना भएन : अध्यक्ष नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गण्डकी प्रदेशमा एकीकृत समाजवादीलाई मन्त्रिपरिषद्मा सहभागी नगराएर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सहमतिको पालना नगरेको आरोप लगाएका छन् ।
उनले पार्टीलाई मन्त्रिपरिषद्मा सामेल गराउने विषयमा थप कुराकानी गर्ने स्पष्ट पारेका हुन् ।
समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले देशको अर्थतन्त्रमा देखिएको सङ्कटका कारण प्रभावित बनेका व्यवसायी र ऋणीलाई सरकारले सहुलियत दिने कार्यक्रम ल्याउनुपर्ने बताए ।
उनले अहिले अर्थतन्त्र कामचलाउको अवस्थामा छ भनेर चित्त बुझाएर बस्न नहुने उल्लेख गरे । उनले भने, “विभिन्न कारणले धेरै व्यवसायीको हालत खराब भएको छ ।
ऋणको ब्याज बढेको छ । ऋण तिर्न नसकेर गम्भीर सङ्कटमा परेका व्यवसायीलाई ऋण चुक्ता गर्ने समय बढाएर हुन्छ वा ब्याजदर घटाएर हुन्छ राहत तथा लगानीकर्ता र ऋणीलाई सहुलियत दिनेबारे सरकारले सोच्नु पर्दछ ।”
केन्द्रीय, प्रदेश र स्थानीय सरकारले आफ्नो विकासको प्राथमिकता तोकेर त्यही अनुरुप काम गर्नुपर्ने अध्यक्ष नेपालको सुझाव थियो ।