एनसेल शेयर प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको छ : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एनसेलको शेयर खरिद बिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको बताएका छन् ।

शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले एनसेलको शेयर खरिद बिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको बताएका हुन् ।

उनले विगतमा पनि सरकारले एनसेलले अरबौँ रुपैयाँ कर मिनाहा गरेको कुरा आएपनि त्यसप्रति कसैको चासो नभएको भन्दै उनले यस प्रकरणमा आवश्यक छानबिन गर्नुपर्ने बताए ।

उनले देशमा सुशासनको अवस्था अत्यन्त नाजुक भएको बताए । उनले आफ्नो जीवनकालमा अहिलेजस्तो सुशासनको अवस्था बिग्रिएको कहिल्यै नदेखेको बताए ।

उनले भने ‘एकपटक सुनिएको थियो एनसेलको अरबौँको कर मिनाहा गर्यो सरकारले । त्यतिबेला कुरा उठ्यो तर चासो कसैको अगाडी बढेन । एनसेल प्रकरणमा राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको जस्तो देखिन्छ पटक–पटक । देशमा सुशासनको अवस्था अत्यन्त नाजुक छ । मैले आफूले भोगेको अहिलेसम्म हेरेकोमा यत्तिको सुशासन बिग्रिएको अनुभव मैले कहिल्यै गरेको थिइन जुन अहिलेको अवस्थामा म देख्दैछु ।’

अध्यक्ष यादवले नेपाली सेनालाई सडक निर्माण गर्न, व्यापार गर्न र ठेक्कापट्टा लगायतका कामहरु गर्न दिने कि नदिने भन्ने विषय नीतिगत रुपमा स्पष्ट हुनुपर्ने बताए ।

उनले यस्ता कामहरूमा सेनालाई नलगाई पेसागत काम मात्रै गर्न लगाउनुपर्ने धारणा व्यक्त गरे । त्यस्तै उनले प्रहरी र कर्मचारी समायोजन नहुँदा प्रदेश सरकारको अवस्था बेहाल भएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + five =