राज्य व्यवस्था तथा सुशासन समिति बैठक

गगन थापाको दाबी : एनसेल प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ छ

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले एनसेलको शेयर खरिद बिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ रहेको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद थापाले एनसेलको शेयर खरिद बिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको ठूलो साँठगाँठ भएको दाबी गरेका हुन् ।

उनले राजनीतिक र प्रशासनिक नेतृत्वको भरथेग र भरोसा बिना एनसेलको शेयर खरिद बिक्री नभएको बताए । उनले सरकारले छानबिन समिति बनाएको अवस्थामा सो समितिको काम, कारबाहीलाई राज्य व्यवस्था तथा सुशासन समितिले हेर्नुपर्ने बताए ।

उनले छानबिन समितिले यो प्रकरणलाई ढाकछोप गर्नसक्ने भन्दै त्यसको अनुगमन संसदीय समितिले गर्नुपर्ने बताए । उनले सो प्रकरणको ढाकछोप हुन खोजे संसदीय समितिले सो प्रयत्नलाई तोड्नुपर्ने धारणा राखे ।

उनले भने ‘म के कुरा दाबाका साथ भन्नसक्छु, मेरो दाबा गलत हुनसक्छ कि एनसेलको सन्दर्भमा जे कुराहरू भएको छ, त्यो रातारात अहिले भएको होइन । यसमा राजनीतिक नेतृत्व, प्रशासनिक नेतृत्वको ठूलो साँठगाँठ, ठूलो भरथेग, ठूलो भरोसा नभईकन यी प्रकरणहरू भएको छैन । यो गलत हो भन्ने कुरा लागेको भए सरकारलाई, सिधा कारबाहीको कुरामा जानुपर्थ्यो । किनभने करको विषय भनेको त यति धेरै अधिकार दिएको आयकर ऐनले पनि, कर अधिकृतले पनि त्यसको बारेमा टुंगो लगाउन सक्छ । मन्त्रिपरिषद्ले निर्णय गरेर समिति बनाएको छ । अब बल समितिको कोर्टमा छ । समितिले हेर्छ । त्यो समितिले ठिक ढंगले काम गर्छ कि गर्दैन ? समितिको बनोटदेखि आफैँमा ठिक छ कि छैन ? यसलाई ढाकछोप गर्न पो समितिले लिएर जाने हो कि ? यो सबै फुस्सा बनाउनेतिर पो जाने हो कि भन्ने हो कि ? यसलाई कसले हेर्छ त ? यो समितिले हेर्नुपर्छ । सरकारले समिति बनाएर हेरेको हुनाले त्यो समितिलाई त्यसले ठिक ग¥यो कि गरेन, ठिक ढंगले गयो कि गएन ? न्यायोचित ढंगले हेर्नेगरी गएको छ कि छैन भनेर हेर्ने काम हाम्रो हो । यो विषय हाम्रो क्षेत्राधिकारभित्र आयो ।’

सांसद थापाले प्रमुख प्रशासकीय अधिकृतहरू नहुँदा स्थानीय तहको प्रभावकारितामा ठूलो असर परिरहेको भन्दै यसतर्फ संघीय सरकार गम्भीर हुनुपर्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =