अधिकृत खड्काको बिहेमा गाईवस्तुलाई भोज

तुलसीपुर । चैनपुर नगरपालिकाका अधिकृत सुशील खड्काले आफ्नो बिहेमा गाईवस्तुलाई भोज खुवाएका छन् । तुलसीपुर उपमहानगरपालिका १८ अक्कासीमा घर भएका अधिकृत खड्का र तुलसीपुर उपमहानगरपालिका ३ का प्राप्ति कँडेलबीच मङ्सिर १८ गते हेटौँडामा सामान्य विवाह भएको हो ।

बिहेमा न जन्ती थिए न भोज नै थियो । खड्काले बिहेमा हुने फजुल खर्च कटौती गरेर आफ्नै गाउँ नजिक रहेको गौशालामा गाईवस्तुलाई परालको जोहो गरिदिनुभयो । आदित्यनाथ गौशालामा रहेका गाईवस्तुलाई चार ट्याक्टर परालको व्यवस्था गरिदिनुभयो । खड्काका बुवा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्का, सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले गौशालाका अध्यक्ष भरतनाथ योगीलाई पराल हस्तान्तरण गर्नुभएको हो ।

गौशालाका अध्यक्ष भरतनाथ योगीले पराल प्राप्त गरेपछि १५ दिनका लागि गाईवस्तुलाई आहारा पुग्ने बताउनुभयो । उहाँका अनुसार गौशालामा तीन सय गाईवस्तु छन् । अधिकृत सुशील खड्काले गाउँ नजिकै रहेका गाईवस्तु खान नपाएर बिरामी परेको सुनेपछि केही दिनका लागि आहारा होला भनेर परालको व्यवस्था गरेको बताउनुभयो । प्राप्ति कँडेलले ‘समाज परिवर्तन आफैंबाट गरौं’ भनेर फजुल खर्चलाई सामाजिक कार्यमा उपयोग गरेको बताउनुभयो ।

उहाँले युवा पुस्ता नै विवाहका नाममा भड्किलो र खर्चिलो कार्यमा लागेको भन्दै त्यस्तो कार्यलाई निरुत्साहित गर्नका लागि आफूहरुले तुलसीपुर उपमहानगरपालिका-१९ सक्रामकी क्यान्सरपीडित विष्णुकुमारी रावतलाई पाँच हजार र तुलसीपुर उपमहानगरपालिका-३ मा रहेको सरस्वती माध्यमिक विद्यालय दमारगाउँ कक्षा ३ मा अध्ययरत अन्जन खड्का र कक्षा ९ मा अध्ययनरत आशा राणालाई एक वर्षका लागि पुग्ने शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको छ । –गोरखापत्रबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *