महोत्सव उद्घाटन गर्न धनगढी उड्दै प्रधानमन्त्री

काठमाडौँ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि धनगढीमा सुदूरपश्चिम महोत्सवको १७ औँ संस्करण सुरु हुने भएको छ । २ पुससम्म चल्ने महोत्सवका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने तय भएको हो ।

बिहीबार धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष पुष्प कुँवरले दिउँसो साढे १२ बजे प्रधानमन्त्री प्रचण्डले महोत्सवको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको बताए । प्रधानमन्त्री बुद्ध एयरको विमानमार्फत धनगढी जानेछन् भने आजै साँझ काठमाडौँ फर्किने छन् ।

महोत्सवमा १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको कुँवरले बताए । झण्डै २ करोडको लगानीमा सञ्चालन हुने महोत्सव ५ लाख जनाले अवलोकन गर्ने उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सूचना प्रविधि गरेर ४ सय स्टल रहनेछन् ।

महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० रुपैयाँ, सर्वसाधारणलाई १ सय रुपैयाँ र फरक क्षमता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उद्योग वाणिज्य संघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *