बाध्यताको नाममा विज्ञान र प्रविधिबाट पछि हट्नु हुँदैन : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले १६ औँ पञ्चवर्षीय योजनामा विज्ञान तथा प्रविधिमा गहन छलफल गरी भावी योजना तय गर्ने बताएका छन् ।
बुधवार ललितपुरमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अध्ययन तथा अनुसन्धानको क्षेत्रमा देशको आवश्यकता र प्राथमिकतालाई मनन गरी नेपाल सरकारको सम्बन्धित निकायसँग निरन्तर सम्पर्कमा रही रणनीतिक योजनाहरूको खाका तयार गर्न आवश्यक रहेको बताए । उनले विज्ञान तथा प्रविधि क्षमता विकासमा तीव्रता आउँदै गएको महसुस भइरहेको बताए ।
उनले बाध्यताको नाममा विज्ञान र प्रविधिबाट पछि हट्नु नहुने बताए । उनले प्रतिष्ठानलाई आवश्यक जनशक्ति, साधन श्रोत र उपकरणको व्यवस्था मिलाउने कुरामा सरकारको तर्फबाट अधिकतम सहयोग हुने प्रतिबद्धता जनाए ।
प्रधानमन्त्री दाहालले भने ‘हाम्रो विज्ञान तथा प्रविधि क्षमता विकासमा तीव्रता आउँदै गएको मैले महसुस गरेको छु । भलै नेपाल सरकारले तपाईँहरूले अपेक्षा गरेअनुसारको श्रोत प्रदान गर्न सकेको भने छैन । त्यो कुराको हेक्का छ । सरकारका बाध्यता हुन्छन् तर ती बाध्यताको नाममा विज्ञान र प्रविधिको योगदानबाट पछि हट्नु हुँदैन । विज्ञान प्रविधिको विकासमा हामीले फड्को मार्न नसकेका कारक तत्त्वहरू मैले राम्रोसँग महसुस गरेको छु । मैले भर्खरै नाष्टको प्रविधि भवन र बायामेडिकल रिसर्च ल्याब्रोटरीको भवन उद्घाटन गरेँ । मलाई विश्वास छ, यी अनुसन्धान र प्रविधि केन्द्रबाट अन्तर्राष्ट्रिय स्तरका अनुसन्धान र परीक्षण हुने वातावरण सिर्जना हुँदै जानेछ । जनशक्ति, साधन श्रोत र उपकरणको व्यवस्था मिलाउने कुरामा सरकारको तर्फबाट अधिकतम सहयोग हुनेछ । आगामी १६ औँ पञ्चवर्षीय योजनामा विज्ञान तथा प्रविधिमा के कस्ता कार्यक्रमहरू समावेश गरी यस क्षेत्रमा स्थापित हुन सम्भव छ भन्ने गहन छलफल र मन्थन गरेर भावी योजना तय गर्न उपयुक्त हुन्छ । देशको आवश्यकता र प्राथमिकतालाई मनन गरी नेपाल सरकारको सम्बन्धित निकायसँग निरन्तर सम्पर्कमा रही रणनीतिक योजनाहरूको खाका तयार गर्न तपाईँहरूसँग अनुरोध गर्न चाहन्छु । अहिलेको अवस्था भनेको सहकार्य र समभावको हो । एक्लै गन्तव्यमा पुग्न कठिन हुने राजनीतिक लगायत अन्य उदाहरण छन् ।’
प्रधानमन्त्री दाहालले अहिलेको अवस्था भनेको सहकार्य र समभावको भएको भन्दै एक्लै गन्तव्यमा पुग्न कठिन हुने बताए ।








