सेवा निवृत्त हुँदा पाउने सुविधामा सरकारले शोषण गरेको स्वयंसेविकाहरूको आरोप

काठमाडौँ । महिला स्वयंसेविकाहरूले सेवा निवृत्त हुँदा पाउने सुविधामा सरकारले शोषण गरेको आरोप लगाएका छन् ।

२० औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् ।

कार्यक्रममा बोल्दै स्वयंसेविका संघकी अध्यक्ष गीता थिङले २० वर्ष अघि दिएको सेवा निवृत्त सुविधा बढाउनुपर्ने माग गरिन् । उनले आजसम्म पनि महिला स्वयंसेविकाहरूलाई २० वर्षअघिकै २० हजार रुपैयाँ दिने गरेको भन्दै असन्तुष्टि जनाइन् ।

उनले सरकारले महिला स्वयंसेविकाहरूलाई सेवा निवृत्त सुविधाका रुपमा २० हजार रुपैयाँ मात्रै दिनु शोषण भएको बताइन् ।

उनले भनिन् ‘प्रमाणपत्र दिने र मनाउने मात्रै ठूलो कुरा होइन । जो स्वयंसेविकाहरू काममा लागिरहनुभएको छ, उहाँहरू दूरदराजमान पनि धेरै हुनुहुन्छ । उहाँहरूलाई केही न केही सेवा सुविधा दिनुपर्छ । बिदाइमा २० हजार दिने गरेको छ । यो त २० वर्ष अघि दिएको हो । आजसम्म पनि त्यही २० दिनेकुरा मान्य हुँदैन । हामीलाई लिए पनि लि नलिए नलि भन्ने खालको अवस्था छ । यस्तोमा स्वयंसेविकाहरूको मनोबल घट्छ । ६० वर्षको उमेरमा बिदाइ गर्नु ठिक छ । यो अति नै शोषण हो, लाजमर्दो कुरा हो ।’

कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव दीपेन्द्ररमण सिंहले महिला स्वयंसेविकाहरूको कामले सरकारलाई थप शक्ति मिल्ने गरेको बताइन् । उनले महिला स्वयंसेविकाहरूको लागि आवश्यक पर्ने काम गर्न मन्त्रालय तयार रहेको बताइन् ।

उनले भनिन् ‘हामीलाई थप इनर्जी र शक्ति दिनेछ । स्वयंसेविकाहरूले बिना स्वार्थ गरेको सहयोग धेरै नै महत्वपूर्ण छ । उहाँहरू दियो मात्रै होइन सिंगै उज्यालो हो । आजको दिन हामीलाई थप शक्ति प्रदान गर्नेछ । मन्त्रालयको तर्फबाट गर्ने सहयोग गर्नेछु ।’

कार्यक्रममा बोल्दै सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले महिला स्वयंसेविकाहरूले उठाएको माग जायज रहेकाले सरकारले सम्बोधन गर्नुपर्ने बताए । उनले महिला स्वयंसेविकाहरूलाई विभिन्न तालिम दिई प्रभावकारी बनाएर थप सशक्त बनाउनुपर्नेमा जोड दिए ।

उनले भने ‘उहाँहरूको आवाज बिलकुलै सही छ । राज्यले यसलाई व्यवस्थित गर्नुपर्छ । महिला स्वयंसेविकाहरूलाई विभिन्न तालिम दिई प्रभावकारी बनाएर थप सशक्त बनाउनुपर्छ । दूरदराजमा महिला स्वयंसेविकाहरूले गर्नुभएको योगदान अतुलनीय छ ।’

डा। बास्तोलाले दूरदराजमा महिला स्वयंसेविकाहरूले गर्नुभएको योगदान अतुलनीय रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − one =