पार्टीको काममा प्रधानमन्त्री, पुगे महोत्तरी

महोत्तरी । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको आन्तरिक बैठक र प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज विहान महोत्तरीको बर्दिबास पुगेका छन् ।

अध्यक्ष दाहाल बिहान ९ बजेदेखि बर्दिबास–४ माइस्थानमा दलको तीन महिने रुपान्तरण अभियानको मधेस प्रदेश समीक्षा बैठकमा सहभागी रहेको माओवादी केन्द्रका मधेस प्रदेश इञ्चार्ज लिलामणि पोखरेलले बताए । बैठकमा मधेस प्रदेशबाट पार्टी केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने सदस्य, जिल्ला इञ्चार्ज र रुपान्तरण अभियानका जिल्ला संयोजकबीच अभियानारे समीक्षा भइरहेको छ । प्रदेशका आठवटै जिल्लामा सञ्चालित अभियानको जिल्ला इञ्चार्जबाट जानकारी लिएपछि अध्यक्ष दाहालले थप निर्देशन दिनेछन् ।

अध्यक्ष दाहाल आजै दिउँसो जिल्लाको गौशाला–५ स्थित बहुद्देश्यीय भवनमा सञ्चालन हुने पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन् । प्रशिक्षणमा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश समिति पदाधिकारी तथा सदस्य, अभियानका जिल्ला संयोजक र सम्बद्ध सदस्यहरु, जिल्ला अध्यक्षसहित एक हजार आठ सय नेता सहभागी हुनेछन् । सो कार्यक्रम सकिएपछि प्रधानमन्त्री दाहाल आजै काठमाडौँ फर्कने तय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *