भौतिक पूर्वाधारलाई अपाङ्गतामैत्री बनाउन राज्य लागि परेको छ : मन्त्री ज्वाला

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अपाङ्गतामैत्री अहिलेसम्म बन्न नसकेका नीति, नियम र कानुन बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आइतबार ३२ औँ अपाङ्गता भएका व्यक्तिहरूको दिवस विशेष कार्यक्रममा सम्बोधन गर्दै भौतिक पूर्वाधारमन्त्री ज्वालाले यस्तो बताएका हुन् ।

उनले अपाङ्गता भएका व्यक्तिहरूलाई सरकारले प्रोत्साहन गर्नेगरी नीति नियमहरू बनाउने तयारीमा रहेको बताए ।

उनले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमा समेत अपाङ्गतामैत्री कार्यक्रम ल्याएर अपाङ्गता भएकाहरूको एजेन्डाहरूलाई सम्बोधन गर्ने कुरामा प्रतिबद्ध रहेको बताए ।

उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पनि कसरी अपाङ्तामैत्री सार्वजनिक बस, सडक र पुलहरू बनाउने भन्ने विषयमा सबैसँग छलफल गरी अगाडि बढाउने तयारी गरिरहेको बताए ।

मन्त्री ज्वालाले मुलुकको समग्र भौतिक पूर्वाधारलाई अपाङ्गतामैत्री बनाउने विषयमा सरकार गम्भीर भएर लागि रहेको बताए । उनले सरकारले बनाउने १६ औँ योजनामा पनि अपाङ्गता भएकाहरूको माग सम्बोधन गरिने बताए ।

उनले भने ‘अहिलेसम्म अपाङ्गतामैत्री बन्न नसकेका नीति,नियम र कानुन अपाङ्गमैत्री बनाउन सरकार प्रतिबद्ध छ । सरकारले ल्याउनी नीति तथा कार्यक्रम र बजेट समेत अपाङ्गतामैत्री कार्यक्रम लाएर अपाङ्गताहरूको एजेन्डाहरूलाई सम्बोधन गर्ने कुरामा पनि प्रतिबद्ध छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीसँग छलफल गर्छु । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पनि कसरी अपाङ्तामैत्री सार्वजनिक बस, सडक र पुलहरू बनाउने भन्ने विषयमा सबैसँग छलफल गरी अगाडि बढाउने छौं । समग्र मुलुकको भौतिक पूर्वाधारलाई अपाङ्गतामैत्री बनाउने विषयमा पनि राज्य लागि परेको छ । जुन सबै सरोकारवालाहरूसँग छलफल गरिनेछ । सरकारले बनाउने १६ औँ योजनामा पनि अपाङ्गता भएकाहरूको माग सम्बोधन गरिनेछन् ।’

३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धतास अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने मूल नारा सहित प्रभातफेरी गरेको छ ।

प्रभातफेरीमा विभिन्न संघसंस्था, विद्यालयलगायतको सहभागिता रहेको थियो ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 9 =