रूसमा तत्काल १ लाख ७० हजार सेना थप्न पुटिनको निर्देशन, १५ प्रतिशत बढाउने

रूसले सेनाको आकार बढाउने भएको छ।

शुक्रबार रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले थप १ लाख ७० हजार सैनिक भर्ती गर्न निर्देशन दिएका छन्।

रूस-युक्रेन युद्ध २२ औं महिनामा प्रवेश गर्दा शुक्रबार पुटिनको निर्देशन जारी गर्दै क्रेमलिनले तत्काल सैनिकको संख्या १५ प्रतिशत वृद्धि गर्ने प्रक्रिया सुरू गर्न भनेको हो।

रूसको रक्षा मन्त्रालयले युक्रेनमा युद्ध र नाटोको निरन्तर विस्तारका कारण रूसमा बढ्दो खतराबीच तयारी अवस्थामा रहन यो कदम चालिएको बताएको छ।

राष्ट्रपतिको उक्त निर्देशन तत्काल कार्यान्वयनको प्रक्रियामा जाने मन्त्रालयले बताएको छ।

योसँगै युक्रेनविरूद्ध लड्ने रूसको सेनाको संख्या १३ लाख र कुल सैनिक संख्या २२ लाख पुग्ने सिएनएनले उल्लेख गरेको छ।

रूस-युक्रेन युद्ध सुरू भएयता पुटिनले दोस्रो पटक सैनिको संख्या बढाउन निर्देशन दिएका हुन्।

अघिल्लो वर्षको अगस्टमा पुटिनले १ लाख ३७ हजार सैनिक भर्ती गर्न निर्देशन दिएका थिए।

रूसी सुरक्षा परिषद्का प्रमुख दिमित्री मेदवेदेवले सन् २०२३ को जनवरी १ देखि डिसेम्बर १ सम्म साढे ४ लाख नयाँ सैनिक भर्ती गरिएको दाबी गरेका छन्।

युक्रेन युद्धमा मारिएका सैनिक संख्या भने रूसले गोप्य राखेको छ। गत वर्षको सेप्टेम्बरमा रूसी रक्षामन्त्री सर्गेई सोइगुले ५ हजार ९३७ रूसी सैनिकको मृत्यु भएको बताएका थिए। त्यसयता रूसले युद्धमा मारिएको सैनिकको तथ्यांक प्रस्तुत नगरेको सिएनएनले उल्लेख गरेको छ।

बेलायतको रक्षा मन्त्रालयले अक्टोबरसम्म रूसका १ लाख ५० हजारदेखि १ लाख ९० हजार सैनिक युक्रेन युद्धमा मारिएको दाबी गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 13 =