भूकम्प प्रभावित विद्यार्थीलाई स्कुल बनाउँदै अनेरास्ववियु

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु भूकम्प प्रभावित जिल्लाका विद्यार्थीलाई विद्यालय पठाउन जुटेको छ ।

भूकम्पले भत्काएका विद्यालयका भवनको विकल्पका रुपमा अस्थायी टहरा निर्माण गरेर विद्यार्थीलाई स्कुल पठाउन थालेको हो ।

जाजरकोटको भेरी नगरपालिका वडा नम्बर २ तिमेलीमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका लागि अस्थायी टहरा निर्माण गरिएको हो ।

अनेरास्ववियुका सचिव तथा प्रवक्ता प्रकाश पौडेलेको नेतृत्वमा जाजरकोटमा अहिले अनेरास्ववियुले विद्यार्थी र अन्य प्रभावितको उद्धार गरिरहेको छ ।

मकालुखबरसंग उनले भने ‘अहिलेसम्म बालबालिकाहरू खुला चौरमा नै पढिरहेका थिए । तत्कालको लागि विद्यार्थीलाई चिसोबाट बचाउनको लागि पनि अस्थायी टहराको खाँचो थियो, हामीले बनायौँ ।’

उनले प्रभावित जिल्लामा अनेरास्ववियु निरन्तर खटिरहेको बताए ।

उनले भने– जाजरकोटमा हामीले एउटा अस्थायी विद्यालय बनायौँ, पहिले महासचिव ज्यूको नेतृत्वमा काम भएको थियो,अहिले मेरो नेतृत्वमा जाजरकोटमा काम भइरहेको छ, उपाध्यक्ष नारायण घर्तीले समन्वय गरिरहनुभएको छ ।

उता रुकुम पश्चिमको आठबिसकोट आठबिसकोट नगरपालिकाको दुई वटा माध्यमिक विद्यालयका लागि पनि अनेरास्ववियुले अस्थायी टहरा निर्माण गरेको छ ।

अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष नारायण घर्तीको नेतृत्वको समूहले आदर्श माविको लागि ९ वटा अस्थायी टहरा र जनविकास माविको लागि ७ वटा अस्थायी टहरा निर्माण गरी सम्बन्धित विद्यालय प्रधानाध्यापकलाई हस्तान्तरण गरेका छन् ।

गत कात्तिक १७ गते राति गएको भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा भएको भौतिक संरचनाको भग्नावशेष हटाउन र अस्थायी बसोबास निर्माणका लागि पार्टी केन्द्रको तर्फबाट एक हजार र प्रदेशका एक सय गरी ११ सय स्वयंसेवक खटिएका छन् ।

नेकपा (एमाले) का जनसङ्गठनहरू नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल, राष्ट्रिय खेलकुद महासंघ तथा पार्टीका प्रदेश कमिटीबाट दक्ष जनशक्ति सहितको स्वयंसेवकहरूको टोली प्रभावित क्षेत्रमा पुगेर काम गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *