प्रचण्डलाई सत्ता र पार्टीको तालमेल मिलाउनै सकस

काठमाडौँ । ‘अध्यक्ष ज्यूको पार्टीमा भन्दा सरकारमा ध्यान छ, रूपान्तरण अभियानको पनि समीक्षा भएको छैन, पार्टी जे जसरी चल्नुपर्ने हो चल्न सकेन ।’ यो भनाई माओवादी केन्द्रका केन्द्रीय सदस्य झंकर साउँदको हो ।

केन्द्रीय सदस्य साउँद आफ्नै पार्टीका अध्यक्ष प्रचण्डको कार्य सम्पादनमा सन्तुष्ट छैनन् । उनी प्रचण्ड सत्ता केन्द्रित हुँदा पार्टी चलायमान हुन नसकेको बताउँछन् । पार्टीको तल्लो तहका नेताहरू मात्रै होइनन्, पदाधिकारीहरू समेत यस्तो गुनासो गर्छन् ।

सिङ्गो मुलुक नै परिवर्तन गरी छाड्ने सङ्कल्प बोकेको नेकपा माओवादी केन्द्र आफ्नै पार्टी रूपान्तरण अभियानलाई समेत नतिजामुखी बनाउन सकिरहेको छैन । जनतामा रूपान्तरण भएर जाने भने पनि एकपछि अर्को नेतृत्व फेरबदलको शृङ्खलाका कारण पार्टी पङ्क्तिमा असन्तुष्टि बढ्दो छ । संसद्को तेस्रो शक्ति बनेर पनि सत्ता हत्याउन सफल भएको माओवादीले न त सरकार नै सही ढङ्गले चलाइरहेको छ, न त पार्टी नै चलायमान बनाउन सकिरहेको छ ।

संसद्को तेस्रो शक्ति भएर पनि अफरमा प्रधानमन्त्री पाएको नेकपा माओवादी केन्द्र पार्टी सङ्गठन सुदृढीकरण र पार्टी चलायमान बनाउने विषयमा भने झन्–झन् सुस्ताएको छ । तेस्रो पटक प्रधानमन्त्री पद सम्हालेका पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा केही परिवर्तन गरेरै छाड्न उद्घोष त गरेका छन् । तर सत्ताको साँचो सम्हालेको ११ महिना पुग्दासम्म कुरा बढी, काम कम भएको आरोप लाग्न थालेको छ ।

जनजीविकाको सवालमा पनि सरकारले परिणाममुखी काम गर्न सकेको देखिँदैन । आफ्नै नेता कार्यकर्ताको मनसमेत प्रचण्डले जित्न सकेका छैनन् । सरकारले गरेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा गरिएको सुधारलगायत जन पक्षीय कामको प्रचारप्रसार गरिने, पार्टीभित्रको समस्या तथा अन्तर विरोधको पहिचान गर्ने, माओवादी नेता तथा कार्यकर्ता जनतासम्म नपुग्नेलगायत गुनासाको प्रभावकारी समाधान खोज्न तीन महिना अगाडिदेखि जनतासँग माओवादी विशेष रूपान्तरण अभियान चलाएको माओवादीको हविगत झनझन ओरालो गतिमा गइरहेको छ ।

सत्ता र पार्टीको तालमेल मिलाउन नसक्दा केन्द्रीय नेताहरू नै नेतृत्वसँग असन्तुष्ट बन्दै गएका छन् । पार्टीको केन्द्रीय तहको नेतृत्व फेरबदल र सत्तासीन हुन नपाउँदाको पीडा नेताहरूमा झाँगिएका कारण पार्टीपंक्तिमा चरम असन्तुष्टिले प्रश्रय पाइरहेको छ । माओवादीका मन्त्री र नेताहरू एकले अर्कालाई सहयोग नगरेको भन्दै जुहारी नै चल्ने गरेको छ । सत्ताको सुविधामा रहेका नेतृत्वले आफ्नो नेता कार्यकर्ताको मन जित्न नसक्दा पार्टी भित्रै मनमुटाब बढ्दै गएको छ ।

सीमित व्यक्ति सत्ताको रजगजमा रमाउँदा माओवादीको ठुलो पंक्ति आफ्नै माथिल्लो नेतृत्वसँग रुष्ट बन्दै गएको छ । प्रधानमन्त्री र माओवादी मन्त्रीहरूले सरकारले गरेका कामको प्रचारप्रसार गर्न नेता, कार्यकर्तालाई आग्रह गर्दै आएका छन् । तर तिनै नेतृत्वबाट होलाहोचोमा पर्दै आएका नेता, कार्यकर्ता भने आफूहरूलाई बेवास्ता गरिएकाले सरकारको गुणगान गर्न उत्साहित छैनन् । पार्टी रूपान्तरण अभियान चलाएको तीन महिना बित्दासमेत माओवादीको आन्तरिक असन्तुष्टिले निकास पाउन सकिरहेको छैन । तथापि माओवादी नेताहरू पार्टी संगठनले अघि सारेको सङ्गठन सुदृढीकरणले पार्टीभित्र छिट्टै रक्त सञ्चार सिर्जना गर्ने विश्वास व्यक्त गर्छन् ।

२०६४ सालको संविधानसभा निर्वाचनमा पहिलो शक्ति बनेको माओवादी त्यसपछि भने निरन्तर क्षयीकरण उन्मुख हुँदै गएको छ । माओवादीबाट छुट्टिएर गएकाहरू अहिले पनि शक्ति आर्जन गर्ने दौडमा छन् । माओवादीबाटै छुट्टिएर आफू चाहिँ सच्चा कम्युनिस्ट भएको भन्दै थुप्रैले स–साना पसल थाप्न भ्याए ।

अहिले तिनै पसलहरूले कम्युनिस्ट एकता गर्नु पर्छ भन्दै एक जुट हुने प्रयासमा छन् । योसँगै पछिल्लो समय मुलुकको वर्तमान व्यवस्थाविरुद्ध असन्तुष्टि जनाउँदै व्यवस्था विरोधी तत्त्वहरू सलबलाउन थालेका छन् । जसले गर्दा प्रधानमन्त्री दाहाललाई थप चिन्ता बढेको छ । यी सबै चुनौतीहरूलाई चिर्दै माओवादी पार्टी चलायमान कहिले हुन्छ ? यो भने आम मानिसको चासोको विषय बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *