कुलमानले भने : नेपालमा वनै राज्य-सडकै राज्य

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा विकास गर्न धेरै नै कठीन रहेको गुनासो गरेका छन्।

बिहीबार ललितपुर महानगरद्वारा जडान गरिएको दोस्रो चरणको स्मार्ट सडकबत्ती उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले सरकारी निकायबीच समन्वय नहुँदा विकास निर्माणमा बाधा परिरहेको बताए।

उनले अन्डरग्राउन्ड विद्युत लाइन तान्न भइरहेको अवरोधबारे आक्रोश पनि व्यक्त गरे।

‘यो देशमा देश विकास हुन धेरै गाह्रो छ। धेरै, कोअर्डिनेसनको इश्यु यति ठूलो छ’ उनले भने, ‘अब भित्र भित्रको रोडमा, त्यत्रो महंगो, अन्डरग्राउन्ड केबलिङ भनेको करिब दश गुण महंगो छ ओभरहेड भन्दा। त्यत्रो महंगो प्रोजेक्ट ल्याइरा’छौँ, तर कहीँ? गाह्रो त एक्दम गाह्रो छ। अलिकति रोड खन्नासाथ त्यो भित्र के के भेटिन्छ के के?’

धेरै ठाउँबाट अवरोध भएपछि ठेकेदारले काम छोडेर हिँड्ने चेतावनी दिएको उनले बताए।

कार्यकारी निर्देशक घिसिङले भने, ‘गाह्रो छ। तर यसलाई कोअर्डिनेशन गरेरकेही समयको लागि अप्ठ्यारो छ भनेपनि गरौँ भनेर गर्दाखेरी बर्खाभरी त उहाँहरुले दिनुनै हुन्न। बर्खा सकिएपछि पनि अहिलेसम्म दिनुभाछैन। मेरो कन्ट्रयाक्टरहरु अब हामी काम गर्दैनौँ भनेर हिँडिसक्नुभाछ।’

उनले ललितपुर महानगरभित्रको विकास निर्माणमा समन्वय गरिदिन महानगरका प्रमुख उपप्रमुखसँग आग्रह पनि गरे।

‘त्यो विषयमा महानगरका मेयरज्यू, उपमेयरज्यू उहाँहरुले चाहीँ रोडविभागसँग चाहीँ समन्वय गर्ने हो भने अझै पनि केही समय छ’ घिसिङले भने, ‘तर यो प्रोजेक्ट यति ठूलो प्रोजेक्टलाई वेवारिसेको रुपमा परिणत गर्नलाई, हामीबीचको कोअर्डिनेसको कारणले वेवारिसे हुँदैछ। यो अति नै दुर्भाग्यपूर्ण छ।’

कार्यकारी निर्देशक घिसिङले वन विभाग, सडक विभाग जस्ता राज्यकै निकायले विकासको काममा अवरोध गरिरहेको बताए।

उनले भने, ‘म आज यहाँ भन्दैछु। मलाई पनि एकदमै पीडा छ। किनभने वनमा गयो, ट्रान्समिसन लाइन..। काम गर्न दिँदैन। वनै राज्य, सडकमा गयो सडकै राज्य। अनि त्यसपछि कसले कहाँ काम गर्ने भन्नुस् न।’

यस्तो स्थिती आउनुमा सबै जिम्मेवार रहेको भन्दै उनले आफ्नो क्षेत्रको विमासमा सबैले योगदान दिनुपर्ने बताए।सबैले केही समय अप्ठ्यारो स्थिती सहेर पनि विकास गर्न सबैले समन्वय गर्नुपर्ने उनको भनाई थियो।

त्यसो हुन नसके विकास हुन नसक्ने उनले बताए। उनले नेपालमा एनजिओ, आइएनजिओको भूमिका पनि विकास निर्माण रोक्ने रहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *