आमसञ्चारसम्बन्धी विधेयकलाई तर्जुमा गर्न सरकारको स्वीकृति

काठमाडौं । सरकारले आमसञ्चारसम्बन्धी विभिन्न विधेयकलाई तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले सञ्चार मन्त्रालयको प्रस्तावमा राष्ट्रिय आमसञ्चारसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको जानकारी दिइन् ।

त्यस्तै नेपाल मिडिया काउन्सिल विधेयक तर्जुमा गर्नसमेत मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति प्रदान गरिएको उनले बताइन् ।

बैठकले सामाजिक सञ्जालको प्रयोग, नियमन, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अर्को विधेयक तर्जुमाका लागि समेत सैद्धान्तिक सहमति प्रदान गरेको छ । त्यस्तै मल्दिभ्सको मालेमा मङ्सिर २७ र २८ गते हुने एक बैठकमा महान्यायाधीवक्ता डा. दिनमणि पोखरे सहभागी हुने कार्यतालिका स्वीकृत गरेको उनले बताइन् ।

बैठकले सरकारले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको पनि जानकारी दिइन् । बैठकले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनीलाई नियुक्त गर्ने निर्णय भएको उनले बताइन् ।

पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता शर्माले रुसी सेनामा रहेका नेपालीको मृत्यु घटनामाबारेमा सरकार गम्भीर रहेको भन्दै रसियन सेना भर्ति हुन नहुने सरकारको स्पष्ट धारणा रहेको बताइन् । दलालमार्फत् गएकाहरू रुसी सेनामा भर्ना भएको हुनसक्ने भन्दै प्रवक्ता शर्माले सरकारसँग स्पष्ट तथ्यांक नभएको स्पष्ट पारिन् । ’रसिया–युक्रेन युद्धमा नेपालीको मृत्यु भएको कुरा आएको छ । यसप्रति सरकार गम्भीर छ,’ उनले भनिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *