एक सय २० रोपनी जग्गामा ६० वर्षीय पाइजाको रहरलाग्दो फलफूल खेती

बागलुङ । बडिगाड गाउँपालिका–५ ग्वालिचौरका ६० वर्षीय मेहरसिंह पाइजाले २०५८ सालमा काठमाडौँबाट पाँच वटा किबीका बिरुवा ल्याउनुअघि यसबारे यहाँ कमैलाई जानकारी थियो ।

साविक धौलागिरि अञ्चलमा पहिलो पटक किबी भित्र्याएर यसको खेती सुरु गरेका पाइजा यतिबेला भने धेरैका लागि प्रेरणाको स्रोत बनेका छन् ।

तत्कालीन समयमा प्रतिविरुवा रु एक हजार पाँच सयमा किवी खरिद गरेका उनले २०६४ सालमा मात्रै व्यावसायिक खेती गर्ने सोच बताएका थिए ।

उनी यतिबेला एक सय २० रोपनीमा फलफूल खेती गरिरहेका छन् । पाइजाले गत वर्ष मात्रै चार हजार केजी किबी बिक्रीबाट रु पाँच लाखभन्दा बढी आम्दानी गरेको बताए । उनले हाल चार सय किबीका विरुवाबाट व्यवसायिक खेती गरिरहेका छन् ।

कृषिमा रमाइरहेका पाइजा किसानको नेता हुँदै २०७४ सालको स्थानीय तहको निर्वाचनमा बडिगाड गाउँपालिका अध्यक्षमा निर्वाचित भए ।

पालिका अध्यक्षको कार्यकाल सकिएलगत्तै उनले फेरि गाउँमा किबी खेतीमै रमाइरहेका छन् ।

‘कृषि पेसाकै कारण मलाई धेरैले चिने, धौलागिरिका चार जिल्लामै पहिलो पटक किबी खेती भित्र्याउने मै हो’, पाइजाले भने, ‘कृषिबाटै जिल्लामा चिनिएको थिए, गाउँपालिकाको निर्वाचनमा पालिका अध्यक्षमै निर्वाचित भएँ, सो कार्यकालमा पालिकामा किबी खेती विस्तार गरेँ ।’ उनले आफू अध्यक्ष भएका बेला किसानलाई अनुदान उपलब्ध गराएको समेत बताए ।

‘गाउँपालिका अध्यक्ष भएपछि व्यस्तता बढ्यो, गाउँमा बसाइँ कम भयो, धेरै काम पालिका केन्द्रबाट गर्नुपर्ने हुँदा किबीले अलि स्याहार पाएन’, पाइजाले भने ‘अहिले त फुर्सद छ दिनभर किबीको स्याहार गर्न भ्याउँछु, परम्परागत कोदो, गहुँ र मकैबाली पूर्णरुपमा बन्द गरेर फलफूलमा लगानी गरेको हुँ ।’ उनले हाल किबीसँगै ओखर, हलुवाबेद, सुन्तला, स्याउ, पाउलिनिया, एभोकार्डो, कागती, अनार खेतीका साथै आठ घार मौरी पनि पालन गरिरहेका छन् ।

पाइजाको किबी खेती देखेरै यतिबेला बागलुङका कैयन किसानले व्यावसायिक किबी खेती सुरु गरेका छन् । गलकोट नगरपालिका–१ दुदिलाभाटीका गुमानसिंह खत्री, निसीखोला गाउँपालिका–४ का लीला घर्ती, बागलुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्का, राजन जिसी, बागलुङ नगरपालिका–९ तित्याङका हीरा केसी र प्रेम केसी, ताराखोला गाउँपालिका–५ का नरबहादुर राना लगायत व्यावसायिक किबी खेतीमा रमाएका छन् ।

बागलुङमा झण्डै ४० हेक्टर जमिनमा व्यावसायिक किबी खेती गरिँदै आइएको सरकारी तथ्याङ्क छ । बागलुङको दुदिलाभाटीमा किबी पकेट कार्यक्रम नै सञ्चालित छ । किबी भिटामिन सी, एन्टिअक्सिडेन्ट र फाइबरको राम्रो स्रोत मानिन्छ । किबी फ्रुट भिटामिन सी र एन्टिअक्सिडेन्टको राम्रो स्रोत हो । यसलाई नेपालमा ‘ठकी फल’ पनि भनिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =